काठमाडौं। भदौ २३ र २४ को जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्यात्मक अवस्थामा राजीनामा दिए। राजीनामा दिएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन गराउने सर्तमा सुशीला कार्कीलाई चुनावी सरकारको नेतृत्व लिने भदौ २७ मा प्रधानमन्त्रीको शपथ खुवाए।
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गरी फागुन २१ मा निर्वाचन घोषणा गर्न राष्ट्रपति कार्यालय शीतलनिवासमा सिफारिस गरेपछि जनप्रतिनिधि चयनका लागि मुलुकमा चुनाव हुन लागेको हो।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत फागुन १० देखि सुरु भएको चुनावी प्रचारप्रसार आज मध्यरातदेखि मौन अवधि सुरु भएसँगै अन्त्य हुनेछ। राजनीतिक दल तथा उम्मेदवारले आजसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन्।
मतदान हुने दिनको ४८ घन्टाअघि मतदान स्थलको तीन सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ भने कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्नुहुँदैन।
सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले बताएको छ। यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने आयोगले जनाएको छ। आयोगका अनुसार मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्नेछ।
आयोगका अनुसार यस अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन ।
मतदान हुने दिनको ४८ घन्टाअघि मतदान स्थलको तीन सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ भने कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्नुहुँदैन।कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिमा तोकिएको आचरणविपरीत कुनै उम्मेदवार तथा राजनीतिक दलले गतिविधि गरेमा उक्त उम्मेदवारको मनोनयन नै रद्द गरिनेछ।
आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि खटिने कर्मचारी र सुरक्षाकर्मीलाई आज अपराह्नसम्म देशभरका सबै मतदान केन्द्रमा पुग्न निर्देशन दिएको छ। दुर्गम क्षेत्रमा भने केही दिनअघि नै टोली परिचालन भइसकेको छ।
आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कर्मचारीले सोमबारसम्म मतदान केन्द्रको चारकिल्ला निर्धारण गरी सूचना टाँस्ने र आवश्यक तयारी पूरा गर्नुपर्नेछ। निर्वाचन सामग्री सम्बन्धित मतदान अधिकृतले सुरक्षाकर्मीको उपस्थितिमा बुझ्ने व्यवस्था गरिएको छ।
सडक सुविधा नभएका करिब ३ सय केन्द्रमा आइतबारसम्मै कर्मचारी पुगिसकेका छन् भने सहरी र तराईका केन्द्रमा पनि सोमबारसम्म सबै टोली पुग्ने आयोगको भनाइ छ। मतदान सम्पन्न भई मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा बुझाएपछि मात्रै खटिएका कर्मचारी र सुरक्षाकर्मीको जिम्मेवारी पूरा हुनेछ।