काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदातालाई प्रतिनिधिसभा निर्वाचनमा सरिक आह्वान गरेकी छन्।
प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर निर्णय लिन आह्वान गरेकी हुन्। प्रधानमन्त्रीले भनेकी छन्, ‘भोट हाल्नु भनेको केवल चुनाव चिह्नमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन, यो त तपाईंले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो।’
फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्न अपिल गर्दै उनले भनेकी छन्, ‘निर्वाचनको सँघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु, शान्ति नै नेपालको असली पहिचान हो।’
प्रधानमन्त्री कार्कीले एउटा विशेष घडीमा आफूले मनका केही कुरा राख्न चाहेको उल्लेख गर्दै देश फेरि इतिहासको महत्त्वपूर्ण मोडमा आइपुगेको र फागुन २१ गतेका दिन आफ्नो र आफ्नो देशको भविष्यको फैसला गर्ने दिन रहेको बताइन्।
‘इतिहासकै यो कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई मैले आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएकी छु’, प्रधानमन्त्री कार्कीले भनिन्, ‘मैले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेँ। अब केही दिनमा यो देशको बागडोर तपाईंहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ, आउनुहोस्, होलीको खुसी साटौँ, फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाऔँ।’
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछिको त्यो परिस्थिति जटिल, संवेदनशील र चुनौतीपूर्ण थियो । सडकमा युवाको आक्रोश, डर भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भनेकी छन्, ‘त्यो कठिन सङ्क्रमणलाई व्यवस्थापन गर्दै, हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डोर्याउनु र संविधानको बाटोमा फर्काउनु हाम्रो पहिलो कर्तव्य थियो।’
प्रधानमन्त्री कार्कीले चुनावी मैदानमा रहनुभएका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई उम्मेदवारीका लागि धन्यवाद दिँदै भनेकी छन्, ‘तपाईंहरूको सक्रियताले नै हाम्रो लोकतन्त्र जीवित रहने हो, चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामीबीच मनमुटाव र वैमनस्य हुनुहुँदैन।’
मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र त्यसअघिको बाँकी समयमा संयमित ढङ्गले एकअर्कालाई सम्मान गर्दै उनले निर्वाचन प्रचार–प्रसार गर्न म सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकलाई आग्रह गरेकी छन्।
‘यस महान् कार्यमा खटिनुभएका निर्वाचन आयोग, सुरक्षा निकायका साथीहरू र सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई म विशेष धन्यवाद दिन चाहन्छु,’ प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा भनेकी छन्, ‘तपाईंहरूको निष्पक्षता र मिहिनतेले नै यो निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउनेछ।’
प्रधानमन्त्री कार्कीले सांस्कृतिक पर्व होली अर्थात् फागु पूर्णिका अवसरमा रङको यो उत्सव र निर्वाचनको यो तयारी दुवै हाम्रा लागि उत्तिकै अर्थपूर्ण रहेको बताएकी छन्। ‘आज मलाई सन्तोष लागेको छ कि हामी त्यो कठिन सङ्क्रमण पार गरेर यहाँसम्म आइपुगेका छौँ। विधिको शासन स्थापित गर्दै संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएका छौँ,’ प्रधानमन्त्रीले कार्कीले भनेकी छन्, ‘यो उपलब्धि तपाईं–हामी सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम हो।’
प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले छोटो र कठिन समयमा कार्यतालिकाबमोजिम सबै तयारी पूरा गरेको उल्लेख गर्दै निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न सरकार र आयोग पूर्ण प्रतिबद्ध रहेको बताएकी छन्।
‘प्रदेश र स्थानीय सरकारले आफ्नो सीमाभित्र रही निर्वाचन तयारीमा महत्वपूर्ण सहयोग पुर्याएका छन्, सरकारका चारवटै सुरक्षा संयन्त्रले निर्वाचन सुरक्षामा कुनै कमी हुन नदिन आफ्ना सबै स्रोत–साधन परिचालन गरेका छन्,’ प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा भनेकी छन्, ‘राष्ट्रपतिले गर्नुभएको अभिभावकीय सहयोगप्रति व्यक्तिगत रूपमा म र वर्तमान सरकार हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ।’
छोटो समयमा नेपालले निर्वाचन व्यवस्थापन गर्न सकेकामा मित्रराष्ट्रहरू तथा अन्तरराष्ट्रिय संस्थाहरूबाट पनि उत्साहजनक साथ र प्रतिक्रिया प्राप्त गरेको र निर्वाचन व्यवस्थापनमा वस्तुगत, नगद तथा प्राविधिक सहयोग प्रदान गर्ने मित्रराष्ट्रलाई सबैलाई प्रधानमन्त्री कार्कीले धन्यवाद दिन दिएकी छ। साथै, उनले संयुक्त राष्ट्रसंघीय निकायबाट प्राप्त सहयोगका लागि पनि आभारी व्यक्त गरेकी छन्।
‘सामाजिक सञ्जाल र आमसञ्चारका केही माध्यमबाट तथ्यहीन र कृत्रिम सामग्री तथा भ्रामक भविष्यवाणी फैलाएर वातावरण धमिल्याउन खोज्ने तत्वलाई सरकारले निगरानीमा राखी कानुनको दायरामा ल्याइरहेको पनि तपाईंहरूलाई जानकारी गराउँदछु,’ प्रधानमन्त्री कार्कीले आफ्नो अपिलमा भनेकी छन्, ‘साथै त्यस्ता भ्रममा नपर्न, त्यस्ता तत्त्वको पछि नलाग्न र मुलुकसामु आएको ऐतिहासिक दायित्व जिम्मेवारीपूर्वक निर्वाह गर्न म सबै देशवासीलाई विनम्र आग्रह गर्दछु।’
प्रधानमन्त्री कार्कीले मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिने काम सरकारबाट नहुने उल्लेख गर्दै कानुनबमोजिम गर्नुपर्ने जुनसुकै तहको कारबाहीमा सरकार पछि नहट्ने बताएकी छन्।
‘यो रङहरूको पर्वले एकता, सद्भाव र उत्साहको सन्देश दिन्छ। हाम्रो समाजमा रहेको विविधतालाई मजबुत बनाउँछ, निर्वाचनको रङ र होलीको रङ मिलेर देशमा नयाँ उत्साह छाओस्,’ उनले भनेकी छन्, ‘तर, म आग्रह गर्छु– होली मनाउँदा संयम अपनाऔँ, कसैको इच्छाविपरीत रङ नलगाइदिऊँ।’
प्रधानमन्त्री कार्कीले मध्यपूर्वी क्षेत्रमा युद्धको संकट गहिरिएको उल्लेख गर्दै इरान र वरपरको तनावले चिन्तित बनाएको उल्लेख गर्दै विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको र त्यहाँ रहेका नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको सुरक्षा ठूलो चासोको विषय बताइन्। उनले भनेकी छन्, “त्यस क्षेत्रमा रहेका सबै नेपाली नियोगलाई सुरक्षासहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको छ, परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको छ, हामी हरदम तपाईंहरूको साथमा छौँ, नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध छ।’