काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेद्वारीसँगै जिल्लाको विकासका लागि खाका कोरेका छन्। उनले कृषि, घरेलु तथा मझौला उद्योग निजी क्षेत्रको विषय पूर्वाधार, खानेपानी, सिँचाइ, शिक्षा स्वास्थ्य र रोजगारको विषयलाई मूल प्राथमिकता दिएर संसदमा आफ्नो बुलन्द आवाज प्रस्तुत गर्ने आम जनतासँग प्रण गरेका छन्।
आगामी २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेद्वारी दिएका उनलाई काभ्रे- क्षेत्र २ को नक्षेत्रको रुपमा हेरिएको छ। उनले मूलत कृषि पूर्वाधार निजी क्षेत्र शिक्षा स्वास्थ्यलाई मुख्य एजेण्डा बनाएर चुनावी मैदानमा उत्रिएका छन्। यसै सन्दर्भमा उनीसँग क्यापिटल नेपालकर्मीले गरेको कुराकानीको अंश:
काभ्रेपालञ्चोक क्षेत्र नं. २ बाट उम्मेद्वार हुनुहुन्छ। यहाँका जनताले तपाईलाई भोट दिनुपर्ने आधारहरु के-के छन्?
पछिल्लो समय देशको राजनीतिक परिदृश्यमा एउटा नयाँ तरङ्ग पैदा भएको देखिन्छ। यसले आम काभ्रेली जनताको सपनालाई साकार गर्न सक्षम, जिम्मेवार र परिपक्व राजनीतिक दल तथा उम्मेदवारको खोजलाई तेज बनाएको छ। जनताले अहिले त्यस्तो नेतृत्वको खोजी गरिरहेका छन्। जसले परिस्थितिले मागेका एजेन्डा सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको कठोर प्रतिबद्धतालाई व्यवहारमा उतार्न सकोस्। भदौ २३ र २३ गते भएको जेन्जी आन्दोलनपछि सुशासनको माग व्यापक बन्यो, त्यस्तै दलीय हस्तक्षेप र भ्रष्ट अभ्यासमा वृद्धि हुँदा नयाँ विकल्पको खोज तीव्र भएको हो।
विकासको गतिको निरन्तरता सुनिश्चित गर्न सक्षम दलको आवश्यकता महसुस भइरहेको छ। यी सबै तत्वहरूलाई हल गरेर अघि बढ्ने सक्ने क्षमता अहिलेको परिस्थितिमा नेपाली कांग्रेसभित्र देखिन्छन्। विगतका विभिन्न चरणमा नेपाली कांग्रेसले लिएका अडान, भिजन र मूल्यका कारण यो पार्टी परिपक्व नेतृत्व र अनुभवी कार्यकर्ताबाट सम्पन्न रहेको छ। पछिल्ला राजनीतिक घटनाक्रमपछि कांग्रेसले नयाँ नेतृत्व र कार्यक्रममार्फत देशका विद्यमान चुनौती समाधान गर्न अग्रसर हुँदै जनताको भरोसा पुन: जितिरहेको छ।
यस कारण मतदाताहरूले खोजेको जिम्मेवार नेतृत्व र व्यवहारिक दृष्टिकोण कांग्रेसभित्र पाइने भएकाले समर्थन कांग्रेसतर्फ बढ्दै गएको छ। मेरो व्यक्तिगत प्रतिबद्धता पनि यही हो- पार्टीको मात्र परिवर्तन होइन, जनताको जीवनस्तरमा ठोस परिवर्तन ल्याउने, सुशासन र पारदर्शितामा आधारित राजनीतिक संस्कृतिका लागि म निरन्तर क्रियाशील छु। त्यसैले पनि मलाई काभ्रेली जनताले भोट दिनेमा पूर्ण विश्वस्त छु।
यहाँका जनताले भोगेका समस्याहरू के-के हुन्। यी विद्यमान समस्यालाई कसरी समाधान गर्नुहुन्छ?
काभ्रेपलाञ्चोक एक सम्भावनायुक्त जिल्ला हो। जुन उपत्यकाबाट छोटो समयमा यहाँका कुना कन्दरामा पुग्न सकिन्छ। जहाँ किसान, साना व्यापारी, साना उद्योगी र उद्यमीहरूको उल्लेखनीय उपस्थिति छ। यद्यपि, नेपालको राजनीतिक इतिहास हेर्दा पञ्चायती व्यवस्थादेखि प्रजातन्त्र, लोकतन्त्र र अहिलेको गणतन्त्रसम्म किसानका विषयहरू संसदमा कहिल्यै पनि चाहिँ पर्याप्त प्राथमिकता पाउन सकेनन्। विडम्बना के भने, जनसंख्याको दुई तिहाइभन्दा बढी किसान भए पनि, उनीहरूको आवाज संसदको निर्णय प्रक्रियामा सशक्त रुपमा गुन्जिन सकेको छैन।
त्यसैले, किसानका जायज माग र अधिकारको मुद्दालाई संसदमा दृढतापूर्वक उठाउने मेरो व्यक्तिगत प्रतिबद्धता रहेको छ। मैले यो कुरा खुला रुपमा पनि स्पष्ट गरेको छु। यससँगै लघु, साना र मध्यम स्तरका उद्योगका विषयमा पनि मेरो विशेष ध्यान छ। यी उद्योगहरूलाई कसरी प्रोत्साहन दिने, संरक्षण गर्ने र दीगो बनाउने? त्यसैसँग नेपालमा निजी क्षेत्रलाई उत्साहित पार्दै लगानीको स्थिर वातावरण सिर्जना गर्ने। यी सबै विषयहरू मेरो प्राथमिक एजेन्डामा रहेको छ। आर्थिक सुदृढीकरणबिना लोकतन्त्रको वास्तविक फल जनतामा पुर्याउन सकिँदैन भन्ने मेरो धारणा हो।
लोकतन्त्रको फल त तब मात्रै मीठो हुन्छ, जब गाउँदेखि सहरसम्मका नागरिकले समान अवसर र सुव्यवस्थित पूर्वाधारको अनुभूति गर्न पाउँछन्। पूर्वाधार विकासको सन्दर्भमा सडक सञ्जालको विस्तार, खानेपानीका समस्या र सिँचाइका अभाव प्रमुख चुनौतीका रुपमा देखिएका छन्। विशेष गरी बनेपा क्षेत्रमा खानेपानीको समस्या निकै गम्भीर छ। एकीकृत खानेपानी आयोजना निकै ठूलो लगानीमा सुरु भए यसलाई सम्पन्न भएको छैन्।
त्यसैले मैले यो आयोजना यथाशीघ्र पूरा गर्ने र अन्य गाउँबस्तीका साना, मध्यम र ठूला खानेपानी परियोजनालाई पनि प्राथमिकतामा राख्ने अठोट गरेको छु। सिँचाइका समस्या र कृषि सुधारका अभियानसँगै, शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा पनि समान रुपले ध्यान दिनु अपरिहार्य छ। समग्र विकासका यी आधार स्तम्भलाई मजबुत बनाउँदै, काभ्रेलगायतका सम्पूर्ण नागरिकको जीवनस्तर उकास्ने मेरो प्रमुख लक्ष्य हो।
यस क्षेत्र उपत्यकाबाट छोटो दुरीमा अवस्थित भएकाले गर्दा पर्यटन तथा पनौतीको हैतिहासिक मठ मन्दिरलाई संरक्षण तथा प्रवर्द्धन गर्न यहाँको भूमिका कस्तो रहन्छ?
काभ्रे जिल्लाको नगरकोटा धुलिखेल पनौती, तथा खोपासी क्षेत्रमा पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र हो र विश्वस्तरमा परिचित गन्त्वयका रुपमा स्थापित भईकसेका छन्। यी ठाउँहरूको पर्यटन प्रवर्द्धन र व्यवस्थापनमा अझै पनि धेरै सुधारको आवश्यकता देखिन्छ। व्यवस्थित योजनाबद्धता र दीगो विकासको अभावले गर्दा पर्यटन क्षेत्रलाई अपेक्षित रुपमा उत्साही बनाउन सकिएको छैन। यति मात्र होइन, काभ्रेका अन्य अनेक स्थानहरू पनि छन्। जसले प्राकृतिक सौन्दर्य, सांस्कृतिक वैभव र ऐतिहासिक महत्त्वका कारण पर्यटकीय सम्भावना बोकिरहेका छन्।
यस्ता स्थानमा आवश्यक पूर्वाधार निर्माण, पहुँच सुधार, र स्थानीय नागरिकलाई पर्यटनमैत्री अभिमुखीकरण प्रदान गर्न सकियो भने ती स्थलहरू पनि क्रमिक रुपमा नयाँ पर्यटन गन्तव्यका रुपमा अघि बढाउन सक्ने ठूलो सम्भावना छ। त्यसका लागि गाउँपालिका, नगरपालिका र सम्बन्धित वडा कार्यालयहरूसँग नजिकको समन्वयमा काम गर्नुपर्छ भन्ने मेरो स्पष्ट दृष्टिकोण छ। सहकार्य र रणनीतिक योजनाको माध्यमबाट मात्र काभ्रेको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन सकिने विश्वास म राख्छु।
प्रतिनिधिसभा निर्वाचनमा काभ्रेबाट थुप्रै जनाले उम्मेद्वारी दिनुभएको छ। त्यसमा तपाईलाई विश्वास गरेर मत दिनुपर्ने तथा तपाईको प्रतिबद्धता के छ?
कांग्रेसले विगतदेखि निरन्तरता दिँदै आएको घोषणा पत्रका परम्परागत अभ्यासबाट बाहिर निस्किएर यथार्थमा केन्द्रित हुँदै प्रतिबद्धता र व्यवहारिक कार्य योजनाको बाटोमा अघि बढिरहेका छौँ। अब हामी ठूला नाराहरू होइन, जनतासँग गरेका प्रतिज्ञालाई नै हाम्रो कामको दिशानिर्देशक बनाएका छौँ। हाम्रो 'भिजन टेन' यही प्रतिबद्धताको मूर्त रुप हो। जसले राष्ट्रिय एजेन्डासँगै स्थानीय आवश्यकता र प्राथमिकतालाई समेत जोडेको छ। प्रत्येक पालिका, प्रत्येक वडाको समस्या र प्राथमिकता फरक हुन्छ। त्यसैले नीति निर्माणदेखि कार्यान्वयनसम्म, हामी स्थानीय सरकार, बुद्धिजीवी र समुदायका अगुवाहरूसँग सहकार्यमा केन्द्रित छौँ।
गाउँबस्ती र घर घरमा पुगेर जनताका आवाज सुन्दै, उनीहरूको आवश्यकतालाई हाम्रो योजनामा समेट्नु हाम्रो प्रमुख उदेश्य हो। जनताले जहाँ-जहाँ समस्या वा आवश्यकता औँल्याएका छन्। ती क्षेत्रका लागि हामीले ठोस र कार्यान्वयन योग्य योजना तयार पारेका छौँ। राष्ट्रिय स्तरका चुनौतीसँग सामाना गर्दै स्थानीय स्तरमा दिगो विकास र सुशासन सुनिश्चित गर्नु मेरो प्रतिबद्धता हो।