सुदूरपश्चिम। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका जिल्लामा तयारी पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सोमबारदेखि सबै मतदानस्थलमा खटाइएको बताए।
उनका अनुसार मतदानस्थलमा पुगेका मतदान अधिकृतको टोलीले सोमबार निर्वाचनसम्बन्धी सूचना टाँस गरेको छ। प्रदेशका ९ जिल्लाका प्रतिनिधिसभाका १६ वटा निर्वाचन क्षेत्रमा १७ लाख १६ हजार ६६० मतदाता रहेको भट्टले जानकारी दिए। उनका अनुसार प्रदेशभरि एक हजार १७६ मतदानस्थल र दुई हजार १९९ मतदान केन्द्रको व्यवस्था गरिएको छ।
कञ्चनपुरमा निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा निर्वाचन सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी तथा सुरक्षाकर्मी सम्बन्धित मतदान केन्द्रमा पुगेका छन्।
जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा खटिएका कर्मचारीले निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र, मतपेटिका, छाप, मतदाता नामावलीलगायत आवश्यक सामग्री बुझेर आ–आफ्नो मतदान केन्द्रमा पुगेका हुन्। मतदान केन्द्रमा पुगेपछि कर्मचारीले केन्द्र व्यवस्थापन, मतदानकक्ष तयारी, मतदाता सहायता डेस्क स्थापना तथा सुरक्षा समन्वयको कार्य अघि बढाएका छन्।
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हरिशचन्द्र जोशीका अनुसार सबै मतदान केन्द्रमा आवश्यक सामग्री सुरक्षित रूपमा पुर्याइएको छ भने मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित बनाउन आवश्यक तयारी पूरा भएको छ।
निर्वाचन लक्षित सुरक्षा योजनाअनुरूप नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी मतदान केन्द्रमा खटिएका छन् भने संयुक्त तथा एकल गस्तीसमेत सञ्चालनमा ल्याइएको छ।–रासस