काठमाडौं। इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि खाडी मुलुक संयुक्त अरब इमिरेट्स (युएई)मा इरानबाट भएको प्रत्याक्रमणका क्रममा ज्यान गुमाउने तीन जनामध्ये एक जना नेपाली गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि भएको छ।
अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा ज्यान गुमाउने नेपाली दिवस श्रेष्ठ रहेको पुष्टि भएको युएईस्थित नेपाली दूतावासले जनाएको हो।
२९ वर्षीय श्रेष्ठ मिडलइस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए। श्रेष्ठको निधनप्रति नेपाली दूतावास अबुधाबीले गहिरो दुःख व्यक्त गरेको छ।
परिस्थिति सहज भएपछि मृतक श्रेष्ठको शव यथाशीघ्र नेपाल पठाउने पनि दूतावासले जनाएको छ। युएईमा इरानको आक्रमणमा परी तीन जनाको मृत्यु भएको थियो। बंगलादेशी र पाकिस्तानी नागरिक एक–एक जनाको पनि मृत्यु भएको थियो।
युएईमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन दूतावासले आग्रह गरेको छ। साथै, युएई सरकारले जारी गरिएका सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड पालना गर्नसमेत दूतावासले अनुरोध गरेको छ।
युएईको रक्षा मन्त्रालयका अनुसार आक्रमण सुरू भएयता इरानले युएईमा १६५ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो। तीमध्ये १५२ वटा नष्ट गरिएको र १३ वटा समुद्रमा खसेका छन्। दोस्रो दिन बिहान मात्रै २० वटा ब्यालिस्टिक मिसाइल खसालिएको र आठ वटा समुद्रमा खसेको जनाइएको छ।
आक्रमण सुरु भएयता इरानले ५४१ वटा ड्रोन हमला गरेको थियो। तीमध्ये ५०६ वटा ध्वस्त पारिएको र ३५ वटा देशभित्र खस्दा भौतिक क्षति पुगेको मन्त्रालयले जनाएको छ।
