काठमाडौं। निर्वाचनपछि रास्वपाको दुई तिहाइ सरकार गठन हुने चर्चासँगै फागुन २० पछि खुलेको सेयर बजारमा हरियाली छाएर तेस्रो पटक सर्किट ब्रेक लागेसँग आजको कारोबार बन्द भएको छ।
निर्वाचनपछिको पहिलो कारोबार दिन नेप्से परिसूचक ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेर आजको लागि कारोबार बन्द भएको हो।
दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटको लागि कारोबार स्थगित भइ १२ बजेर १ मिनेटमा खुलेको बजारले बढ्ने क्रमलाई निरन्तरता दिँदै १२ बजेर १ मिनेट ३८ सेकेन्डमा नै ६ प्रतिशत बढेर तेस्रो सर्किट लागेको हो।
प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको र समानुपातिकमा समेत रास्वपाकै अग्रता रहेका बेला सेयर बजारले नयाँ सरकार र बालेन्द्र शाह बालेनलाई स्वागत गरेको देखिएको छ।
रास्वपाले पछिल्लो मत परिणामअनुसार १२४ प्रत्यक्ष सिटसहित ४६ प्रतिशत बढी समानुपातिक मत प्राप्त गरेसँगै स्थिर सरकारका लागि लगानीकर्ता ढुक्क हुने स्थिति देखिएकाले सेयर बजार उकालो लागेको हो।
तेस्रो सर्किट लागेसँगै आजका लागि सेयर कारोबार बन्द भएको छ।
सेयर बजारमा एक घन्टाअघि ४ प्रतिशतले बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ भने २ घन्टाअघि ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ र ६ प्रतिशतले बढेमा दिनभरको कारोबारमा ब्रेक लाग्ने प्रावधान छ।
निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत हासिल गरेसँगै मुलुकमा राजनीतिक स्थिरता कायम हुने र त्यसले नीतिगत निरन्तरता सुनिश्चित गर्दै अर्थतन्त्र सुधारतर्फ अघि बढ्ने अपेक्षाले लगानीकर्तामा उत्साह बढेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६२.९३ अकंले बढेर २८७५.४३ बिन्दुमा पुगेको छ। आज २ मिनेट मात्रै खुलेको बजारमा २६१ कम्पनीको ११ लाख ४३ हजार कित्ता सेयर किनबेच हुँदा ५५ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ।
पछिल्लो समय सेयर बजार लगातार राजनीतिक अस्थिरताको प्रभावमा परेको थियो । सरकार परिवर्तनको शृंखला, नीतिगत अनिश्चितता तथा आर्थिक निर्णयमा देखिएको ढिलासुस्तीले लगानीकर्तामा अन्योल बढाएको थियो।
बजारका आधारभूत सूचक अनुकूल हुँदाहुँदै पनि राजनीतिक वातावरणका अनुकूल हुँदा पुँजी बजारले अपेक्षित गति लिन सकेको थिएन। प्रतिनिधिसभामा निर्वाचनपछि रास्वपाको दुई तिहाइ सरकार बन्ने निश्चित भएपछि लगानीकर्ता ढुक्क हुँदा सेयर बजार उफ्रिएको हो।