काठमाडौं। तेस्रो पटक आईसीसी-२० विश्वकप जितेर इतिहास रचेको भारतीय पुरुष क्रिकेट टोलीलाई भारतको क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले एक करोड ४० लाख अमेरिकी डलर नगद पुरस्कार दिने घोषणा गरेको छ।
बीसीसीआईले मंगलबार जारी गरेको वक्तव्यमा खेलाडी, प्रशिक्षक, सहयोगी स्टाफ तथा चयनकर्ताको ‘ऐतिहासिक उपलब्धि’को सम्मान स्वरुप उक्त पुरस्कार उपलब्ध गराइने जनाएको छ।
बोर्डका सचिव देवजित साइकियाले यस सफलताले भारतलाई टी-२० ढाँचाको इतिहासमा सबैभन्दा सफल टोलीमध्ये एकका रुपमा स्थापित गरेको बताए।
भारतले आइतबार अहमदाबादमा सम्पन्न फाइनल खेलमा न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै लगातार दोस्रो पटक ट्रफी उचाल्दै प्रतियोगिताको उपाधि कायम राख्ने पहिलो टोली बनेको हो। साथै सह आयोजक रहेको भारत घरेलु मैदानमै टी-२० विश्वकप जित्ने पहिलो देश पनि बनेको छ।
घोषित नगद पुरस्कार खेलाडी, प्रशिक्षक र सहयोगी कर्मचारीसहित सम्पूर्ण टोलीमा बाँडिने बताइएको छ। यसबाहेक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)बाट पनि भारतले विजेताका रुपमा २३ लाख ४० हजार डलर प्राप्त गर्ने छ। उपविजेता न्युजिल्यान्डले ११ लाख ७० हजार डलर पुरस्कार पाउने छ।
विश्वको सबैभन्दा धेरै जनसंख्या भएको भारतमा क्रिकेट अत्यन्त लोकप्रिय खेल हो। शीर्ष खेलाडीहरू राष्ट्रिय स्तरमा ठूलो स्टारका रुपमा चिनिन्छन् र क्रिकेटले विविध सांस्कृतिक पृष्ठभूमि भएका मानिसहरूलाई एकै ठाउँमा जोड्ने महत्त्वपूर्ण माध्यमका रुपमा काम गर्दै आएको छ।
भारतको उपाधि जितसँगै देशभरि उत्सवको माहोल देखिएको थियो। आइतबार मध्यराततिर नीलो भारतीय जर्सी लगाएका समर्थक सडकमा निस्केर ड्रम बजाउँदै र बलिउड गीतहरूमा नाच्दै विजयोत्सव मनाएका थिए।