काठमाडौं। याम्बालिङ हाइड्रोपावरले चैत ८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन मिति तोकेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ।
यसमध्ये ७ करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन गर्नेछ। सेयर खरिदका लागि सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१, २, ३, ४, ५, ६ र ७ का स्थानीयले आवेदन दिन सक्नेछन्।
सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड १० लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २ लाख १० हजार कित्ता विदेश रोजगारीमा नेपालीका लागि निष्कासन गर्नेछ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजन प्रभावित क्षेत्रका वासिन्दाले अधिकतम ७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतममा २१ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन बन्द छिटोमा चैत २२ गते र ढिलोमा २०८३ वैशाख ७ गते हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन बन्द छिटोमा चैत ११ र ढिलोमा चैत २२ गते हुनेछ।
कम्पनीले सञ्चालन गरेको ७.२७ मेगावाटको याम्बालिङ खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८७ करोड ११ लाख ५६ हजार ३१५ रुपैयाँ छ भने प्रतिमेगावाट लागत २५ करोड ७३ लाख ८० हजार ५११ रुपैयाँ रहेको छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।