भैरहवा। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रुपन्देहीका उद्योगी व्यवसायीले माग गरेका छन्। रूपन्देहीको भैरहवास्थित उक्त विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन।
पर्यटन क्षेत्रमा झन्डै १ खर्बभन्दा बढी लगानी भइसके पनि अपेक्षित परिणाम नआउँदा लगानी जोखिममा पर्ने अवस्था सिर्जना भएको पर्यटन व्यवसायी अमित गुप्ताले बताए।
लुम्बिनी, देवदह, रामग्राम, तिलौराकोट तथा रोहिणी नदी आसपासका क्षेत्र ऐतिहासिक, धार्मिक र बौद्ध सभ्यतासँग जोडिएका महत्त्वपूर्ण गन्तव्य हुन् । ती क्षेत्रको प्रवद्र्धनमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिए पनि पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी पहल हुन नसक्दा यस क्षेत्रको पर्यटन प्रवर्द्धन हुन सकेको छैन।
सिद्धार्थ उद्योग वाणिज्य संघघका अध्यक्ष नेत्रप्रसाद आचार्यले अब गठन हुने नयाँ सरकारले पर्यटन प्रवर्द्धन र विमानस्थल सञ्चालनमा प्रभावकारी भूमिका खेल्ने विश्वास निजी क्षेत्रले लिएको बताए। उनले यो क्षेत्र बौद्ध सभ्यता, इतिहास र धार्मिक पर्यटनको केन्द्रका रूपमा विकसित हुन सक्ने उल्लेख गर्दै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आए पर्यटन प्रवर्द्धन मात्र होइन, समग्र आर्थिक गतिविधिमा परिवर्तन आउने विश्वास व्यक्त गरे।
नेपाल भन्सार एजेन्ट संघ भैरहवाका अध्यक्ष मधुप्रसाद पन्थीले रुपन्देही नेपालकै महत्त्वपूर्ण औद्योगिक क्षेत्र भएकाले यहाँ उत्पादन हुने वस्तुलाई अन्तरराष्ट्रिय बजारसम्म पुर्याउन आवश्यक पूर्वाधार र वातावरण सिर्जना गर्न नयाँ सरकारले विशेष ध्यान दिनुपर्ने बताए। भैरहवा औद्योगिक करिडोरमा उत्पादन हुने वस्तुको निर्यात विस्तार गर्न सके उद्योग क्षेत्र थप सशक्त बन्ने उनको भनाइ छ।
विमानस्थल सञ्चालन र नाका व्यवस्थापन प्रभावकारी भए अन्तरराष्ट्रिय व्यापार विस्तारमा सहयोग पुग्ने उनको धारणा छ। निजी क्षेत्रका प्रतिनिधिका अनुसार स्थिर सरकार गठन भएपछि लगानीमैत्री वातावरण निर्माण, पर्यटन प्रवर्द्धन, उद्योग विस्तार तथा पूर्वाधार विकासमा सरकारले ठोस पहल गर्ने अपेक्षा गरिएको छ।
उनहरूले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आए लुम्बिनी क्षेत्रको पर्यटन विकाससँगै रूपन्देहीको उद्योग–व्यापारमा पनि ऊर्जा थपिने विश्वास व्यक्त गरेका छन्।–रासस