काठमाडौं। कालंगा हाइड्रो लिमिटेडले चैत १० देखि आईपीओ निष्कासन मिति तोकेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्ने भएको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब ४० करोडको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता सेयर निष्कासन अनुमति पाएको छ। यसमध्ये १४ करोड रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १४ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गर्नेछ।
त्यसमध्ये ९ लाख १० हजार कित्ता सेयर आयोजना अति प्रभावित बझाङको केदारस्युँ गाउँपालिका–४ र ५, बित्थडचिर गाउँपालिका–६ र ८, बुंगल नगरपालिकाको वडा–३, ४, ६, ८ र ५, बैतडीको डिलासैनी गाउँपालिका–१ र २ तथा दार्चुलाको शैल्यशिखर नगरपालिका–१ का स्थानीयलाई छुट्याइएको छ।
यस्तै, ४ लाख ९० हजार कित्ता बझाङको केदारस्यूँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिका, बैतडीको डिलासैनी गाउँपालिका र दार्चुलाको शैल्यशिखर नगरपालिकाको अतिप्रभावित क्षेत्रमा नपरेका सम्पूर्ण वडाका स्थानीयका लागि बाँडफाँट गरिनेछ।
सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ३ करोड ५० लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार कित्ता विदेशमा रोजगारीमा नेपालीका लागि निष्कासन गर्नेछ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले छिटोमा चैत २४ गते र ढिलोमा २०८३ बैशाख ९ गतेसम्म आवेदन दिन पाउनेछन्।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा चैत १५ गते र ढिलोमा चैत २४ सम्म आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।