काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले विश्वभर छरिएर रहेका गैरआवासीय नेपाली (एनआरएनए) मुलुकका लागि सद्भावना दूतका रुपमा रहेको भन्दै विकास र समृद्धिमा योगदान दिन आग्रह गरेकी छन्।
काठमाडौंमा सोमबार बेलुकी आयोजित एनआरएनएको १२औं ग्लोबल कन्फेरेन्स तथा विश्व सम्मेलन समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन्। मुलुकमा सम्पन्न निर्वाचनबाट आएको ताजा जनादेश र बदलिँदो परिवेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगाएको उनको भनाइ छ।

एकताको महाधिवेशन आयोजना गरेर नेपालको विकास, सहकार्य र साझा जिम्मेवारीको सन्देश प्रवाह गरेकोमा प्रधानमन्त्री कार्कीले सिगो एनआरएनएलाई धन्यवाद दिइन्।
विदेशमा बसोबास गर्ने नेपालीले जहाँ रहे पनि नेपालको गौरव र संस्कृतिको प्रवर्द्धन गर्दै आएकामा खुसी लागेको उनको भनाइ छ। नेपालको वर्तमान संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था गरेको भन्दै जहाँ रहे पनि मातृभूमिप्रति योगदान गरिरहन उनको आग्रह छ।
संघका नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माले प्रवासमा रहेका नेपालीलाई संघमा आवद्ध गराउँदै संगठनलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे। शर्माले गैरआवासीय नेपाली नागरिकलाई वंशजको आधारमा नागरिकता दिलाउन अब बन्ने सरकारसँग निरन्तर पैरवी गर्ने प्रतिबद्धता जनाएका छन्। उनले एनआरएनएका लागि मुलुकभित्र लगानी वातावरण निर्माण तथा संरक्षणका लागिसमेत आवश्यक पहल गर्ने दावी गरेका छन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीका जिज्ञासा र समस्या समाधानका लागि कृत्रिम बुद्धिमत्ता एआईमार्फत सेवा प्रदान गर्ने योजना अघि बढाउने उनको भनाइ छ । उनले विदेशमा काम गरिरहेका नेपालीको दक्षताको अभिलेख तयार पारेर उनीहरू स्वदेश फर्किएपछि सम्बन्धित रोजगारी वा उद्यमसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने शर्माको भनाइ छ।
त्यस्तै, एनआरएनएको १२आंै ग्लोबल कन्फेरेन्स तथा विश्व सम्मेलनका क्रममा त्यस्तै गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष डा बद्री केसीले अब बन्ने सरकारले गैरआवासीय नेपालीको मतदान सुनिश्चित गर्नुपर्ने माग गरे।
विदेशमा ९२ देशमा रहेका एनआरएन नागरिक अहिले सीप र पुँजीमा सक्षम भएकाले गर्दा उनीहरूलाई स्वदेश फिर्ता लयाउन सरकारले वातावरणा बनाउनुपर्ने उनको भनाइ छ। कार्यकारी अध्यक्ष महेश श्रेष्ठले विगत केही वर्ष संघमा समस्या पैदा भए पनि आउने दिनमा विवाद र फुट नगरिने बताए।