काठमाडौं। पाकिस्तानले अफगानिस्तानको काबुलस्थित लागूऔषध प्रयोगकर्ता अस्पतालमा हवाई आक्रमण गर्दा ४०० जनाको मृत्यु भएको छ भने साढे दुई सय घाइने भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
यो घटना गत महिनाको अन्त्यतिर सुरु भएको द्वन्द्वको अर्को श्रृंखला हो, जहाँ बारम्बार सीमापार झडपका साथै अफगानिस्तानभित्र हवाई आक्रमण भइरहेका छन्। युद्धविरामका लागि गरिएका अन्तर्राष्ट्रिय प्रयास असफल हुँदा दुई छिमेकीबीच आक्रमण–प्रत्याक्रमणका घटना दोहोरिँदै आएका छन्।
पाकिस्तानले अस्पतालमा आक्रमण गरेको आरोपलाई अस्वीकार गरेको छ। पूर्वी अफगानिस्तानमा गरिएका आफ्ना आक्रमणले कुनै पनि नागरिक क्षेत्रलाई निशाना नबनाएको पाकिस्तानको दाबी छ।
अफगानिस्तानका सरकारी उप–प्रवक्ता हमदुल्लाह फित्रतले एक्समा एक पोस्ट गर्दै स्थानीय समयअनुसार सोमबार राती करिब ९ बजे गरिएको हवाई आक्रमणले अस्पतालमा क्षति पुर्याएको बताएका छन्। उनले दुई हजार बेड क्षमताको उक्त संरचनाका ठूला खण्ड ध्वस्त पारेको बताए। उनले मृत्यु हुनेको संख्या अहिलेसम्म ४०० पुगेको र करिब २५० जना घाइते भएको जानकारी दिए।
स्थानीय टेलिभिजनले एक्समा पोस्ट गरेका फुटेजमा सुरक्षा बलहरूले टर्चलाइट प्रयोग गर्दै हताहत भएकालाई बोकिरहेको र अग्निनियन्त्रकले भवनको भग्नावशेषमा सल्किएको आगो निभाउन संघर्ष गरिरहेको देखिन्छ। फित्रतले उद्धार टोली आगो नियन्त्रण गर्न र शवहरू निकाल्न खटिरहेको बताएका छन्।
दुई छिमेकीबीच वर्षौंयताकै घातक लडाइँ तेस्रो सातामा प्रवेश गरेको छ। सीमामा दुवै पक्षबीच गोली हानाहान भई अफगानिस्तानमा चार जनाको मृत्यु भएको केही घन्टापछि यो आक्रमण भएको हो। अफगान सरकारी प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक्समा उक्त आक्रमणको निन्दा गर्दै पाकिस्तानलाई आतंक मच्नयाउन अस्पताल र नागरिक क्षेत्रलाई निशाना बनाएको आरोप लगाएका छन्।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफका प्रवक्ता मोसर्रफ जैदीले यी आरोपलाई निराधार भन्दै खारेज गरेका छन्। उनले काबुलमा कुनै पनि अस्पताललाई निशाना नबनाइएको दाबी गरेका छन्।
अफगान अधिकारीले मृत्युको संख्या सार्वजनिक गर्नुअघि पाकिस्तानको सूचना मन्त्रालयले एक्समा एक पोस्ट गर्दै भनेको छ, ‘यी आक्रमणले अफगान तालिवान र अफगानिस्तानमा रहेका पाकिस्तानी लडाकुको सैन्य अखडा, प्राविधिक उपकरण भण्डारण तथा गोलाबारुद भण्डारणलगायत आतंकवादी पूर्वाधारलाई काबुल र नान्गहारमा सटिक रूपमा निशाना बनाएका थिए।’–एजेन्सी