हिमालको कठोर भौगोलिक परिवेशमा जन्मिएर त्यहीँबाट जीवनयात्रा सुरु गरेका मिंग्मा डेबिड शेर्पा संघीय संसदको ढोका उक्लिँदैछन्। भारी बोकेर जीविकोपार्जन गर्ने भरियाको भूमिकाबाट सुरु भएको उनको संघर्षपूर्ण यात्रा विश्व पर्वतारोहणमा कीर्तिमान् कायम गर्दै अब नीति निर्माणको केन्द्रसम्म पुगेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद बनेका शेर्पा सगरमाथा आरोहीमध्ये संसद् पुग्ने पहिलो प्रतिनिधि बनेका छन। यसले उनको व्यक्तिगत सफलतासँगै हिमाली भेगका हजारौं श्रमिकको प्रतिनिधित्व पनि गर्छ।
अहिलेसम्म मिंग्माले सगरमाथा ९ पटक सफल आरोहण गरिसकेका छन्। विश्वकै दोस्रो अग्लो हिमाल केटू ६ पटक आरोहण गरेर उनले अर्को महत्त्वपूर्ण कीर्तिमान कायम गरेका छन्। केटू हिमालको कठिनता र जोखिमलाई ध्यानमा राख्दा यो उपलब्धि अझै विशेष मानिन्छ।
मिंग्माको जीवनकथा साधारण सुरुआतबाट असाधारण उपलब्धिसम्मको यात्रा हो। पहाडी जिल्ला ताप्लेजुङमा जन्मिएका शेर्पाले सन् २००८ र २००९ तिर हिमाल आरोहणमा जाने विदेशी तथा स्वदेशी टोलीको भारी बोक्ने कामबाट आफ्नो हिमालको यात्रा सुरु गरेका थिए।
त्यतिबेला उनीसँग न अन्तर्राष्ट्रिय कीर्तिमानको सपना थियो, न त राजनीतिक नेतृत्वको कल्पना। उनी केवल दैनिक श्रमबाट जीविका चलाउने एक युवा थिए।
हिमालको उकालो–ओरालो, कठोर मौसम, जोखिमपूर्ण मार्ग र सीमित साधनबीच उनले आफ्नो संघर्षलाई निरन्तरता दिए। भरिया हुँदै उनी किचन हेल्पर बने, जहाँ उनले आरोहण टोलीको खानपान व्यवस्थापनमा काम गरे। यही क्रममा उनले पर्वतारोहणसम्बन्धी तालिम लिने अवसर पाए, जसले उनको जीवनलाई नयाँ दिशा दियो।
सन् २०१० मा उनले पहिलोपटक सगरमाथा आरोहण गर्ने अवसर पाए। यो अवसर उनका लागि केवल एउटा कामको हिस्सा मात्र थिएन, बरु जीवन बदल्ने क्षण सावित भयो। पहिलो प्रयासमै सफलतापूर्वक सगरमाथाको शिखरमा पुग्न सफल भएपछि उनले आफूभित्रको सम्भावनालाई नयाँ ढंगले चिन्ने मौका पाए। त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन। निरन्तर प्रयास, अनुशासन र साहसका साथ उनले पर्वतारोहण क्षेत्रमा आफ्नो पहिचान बलियो बनाउँदै लगे।
अहिलेसम्म मिंग्माले सगरमाथा ९ पटक सफल आरोहण गरिसकेका छन्। विश्वकै दोस्रो अग्लो हिमाल केटू ६ पटक आरोहण गरेर उनले अर्को महत्त्वपूर्ण कीर्तिमान कायम गरेका छन्। केटू हिमालको कठिनता र जोखिमलाई ध्यानमा राख्दा यो उपलब्धि अझै विशेष मानिन्छ। उनी केटू सबैभन्दा धेरै पटक चढ्ने आरोहीमध्ये एकका रूपमा चिनिन्छन् र यस उपलब्धिले उनलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाएको छ।
८,००० मिटरभन्दा अग्ला हिमाल उनले ३५ पटक आरोहण गरिसकेका छन् भने ६,००० र ७,००० मिटरका हिमाल जोड्दा ६० भन्दा बढी सफल समिट उनको नाममा छन्।
सन् २०२१ मा केटू हिमालको विन्टर सिजनमा पहिलोपटक नेपाली टोलीले सफल आरोहण गर्दा उनी पनि उक्त ऐतिहासिक अभियानको हिस्सा थिए। दशकौंसम्म असम्भव मानिएको केटूको हिउँदे आरोहण सम्भव बनाउँदै नेपाली आरोहीको क्षमतालाई विश्वसामु स्थापित गर्ने यो उपलब्धि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा व्यापक रूपमा चर्चित बन्यो। यसले नेपाली पर्वतारोहणको छवि थप उचो बनायो।
उनले सबैभन्दा कम उमेरमा विश्वका १४ वटै ८,००० मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने कीर्तिमान पनि कायम गरेका छन्। त्यस्तै, ६१ दिनभित्र सगरमाथा र केटु दुवै हिमाल आरोहण गर्ने उपलब्धि, तथा केटू हिमाललाई आधार शिविरदेखि शिखरसम्म १४ घन्टा २२ मिनेटमा पार गर्ने कीर्तिमानले उनलाई विश्व पर्वतारोहणमा विशिष्ट स्थान दिलाएको छ।
उनका नाममा गिनिज बुक अफ वल्र्ड रेकर्डमा पाँचवटा उपलब्धि सूचीकृत छन्, जसले उनको योगदानलाई औपचारिक रूपमा प्रमाणित गर्छ।

मिंग्माको पहिचान केवल कीर्तिमानमा सीमित छैन। उनको जीवनमा मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वको पनि उत्तिकै महत्वपूर्ण स्थान छ। सन् २०१६ मा सगरमाथा र ल्होत्से एकै दिन आरोहण गरेर नयाँ रेकर्ड बनाउने तयारीमा रहेका उनले बाटोमै समस्यामा परेकी एक भारतीय महिला आरोहीलाई बचाउन आफ्नो योजना त्यागे।
जोखिमपूर्ण परिस्थितिमा गरिएको त्यो निर्णयले उनको मानवीय पक्षलाई उजागर गर्यो। उनी स्वयंले त्यस घटनालाई आफ्नो जीवनकै सबैभन्दा गर्विलो क्षणका रूपमा लिन्छन्। पर्वतारोहणलाई व्यावसायिक र संस्थागत स्वरुप दिन उनले निर्मल पुर्जा(निम्स दाइ)लगायतका सहकर्मीसँग मिलेर ‘एलाइट एक्सपेड’ नामक कम्पनी स्थापना गरेका छन्।
यस कम्पनीमार्फत अन्तर्राष्ट्रिय स्तरमा हिमाल आरोहण, स्काइडाइभिङ र साहसिक पर्यटनसम्बन्धी तालिम तथा सेवा सञ्चालन हुँदै आएको छ। सन् २०१९ मा ‘प्रोजेक्ट पोसिबल’ अन्तर्गत ६१ दिनमा १४ वटा ८,००० मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने ऐतिहासिक अभियानमा पनि उनको भूमिका महत्त्वपूर्ण रहेको थियो।
पाँच महादेशका प्रमुख हिमाल अकोनकागुवा, किलिमिन्जारो, इलब्रसदेखि सगरमाथासम्म आरोहण गरिसकेका शेर्पा अहिले अन्तर्राष्ट्रिय ब्रान्डसँग पनि आबद्ध छन्। यसले नेपाली शेर्पा समुदायको क्षमता र पेसागत दक्षतालाई विश्व बजारमा चिनाउन सहयोग पुगेको छ।
फेरिएको भूमिका
पाँच महादेशका प्रमुख हिमाल अकोनकागुवा, किलिमिन्जारो, इलब्रसदेखि सगरमाथासम्म आरोहण गरिसकेका शेर्पा अहिले अन्तर्राष्ट्रिय ब्रान्डसँग पनि आबद्ध छन्।
अब उनको यात्रा नयाँ अध्यायमा प्रवेश गरेको छ। राजनीति र नीति निर्माणको क्षेत्र। संसद् प्रवेशसँगै उनले हिमाली क्षेत्रका जनजीवन, त्यहाँ काम गर्ने पोर्टर, गाइड र स्थानीय समुदायका समस्या उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
हिमालमा काम गर्नेहरूले वर्षौंदेखि उठाउँदै आएका मुद्दा, सुरक्षा, बिमा, उचित पारिश्रमिक, स्वास्थ्य सुविधा र वातावरण संरक्षण अझै पनि पर्याप्त रूपमा सम्बोधन हुन सकेका छैनन्। यस्तो अवस्थामा उनी ती आवाजको प्रतिनिधि बनेर संसद् पुगेका छन्।
‘मेरो यात्रा हिमालबाट सुरु भएको हो, त्यसैले हिमाल र त्यहाँका मानिसको समस्या समाधान गर्नु मेरो प्राथमिकता हो,’ शेर्पाले भने, ‘नेपालको अर्थतन्त्रमा हिमाल पर्यटनको महत्त्वपूर्ण योगदान भए पनि त्यसको आधारस्तम्भ मानिने श्रमिकको अवस्था अझै कमजोर छ, यसमा आवाज उठाउनेछु।’ सँगै हिमाल संरक्षण, दिगो पर्यटन र श्रमिक अधिकारका विषयमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धतासमेत उनले जनाएका छन्।