काठमाडौं। खालीसिसीले वल्र्ड रिसाइक्लिङ डे अवसर पारेर कोका–कोला बेभरेज नेपालसँगको सहकार्यमा फोहोर संकलक महिलाका बालबालिकाका लागि सुरक्षित स्थान ‘सम्मान घर’को उद्घाटन गरेको छ।
यो सुविधा खालिसिसीको वाउ सेन्टरभित्र स्थापना गरिएको हो। यो रिसाइक्लिङ तथा सामुदायिक नवप्रवर्तन केन्द्र हो, जसलाई कोका–कोला नेपालले सहयोग गर्दै आएको छ। केन्द्रले रिसाइक्लिङ प्रणाली सुदृढ बनाउनुका साथै त्यसमा योगदान गर्ने व्यक्तिको जीवनस्तर उकास्ने काममा केन्द्रित छ।
‘सम्मान घर’ नेपालका रिसाइक्लिङ प्रणालीमा फोहोर संकलक महिलाले निर्वाह गर्दै आएको महत्त्वपूर्ण तर प्रायः अदृश्य भूमिकालाई सम्मान गर्न स्थापना गरिएको कम्पनीले बताएको छ।
नयाँ घरमा बालबालिकाले सुरक्षित र स्याहारपूर्ण वातावरण प्रदान गर्दछ, जहाँ उनीहरूले खेल्न, सिक्न र समय बिताउन सक्नेछन्। यसले आमाहरूलाई काम गर्दा मानसिक शान्ति र सम्मानको अनुभूति दिलाउने लक्ष्य राखेको छ।
खालीसिसीका प्रमुख कार्यकारी अधिकृत अमुन थापाले भने, ‘फोहोर संकलक नेपालका रिसाइक्लिङ प्रणालीका मेरुदण्ड हुन्, तर उनीहरूको योगदान प्रायः ओझेल पर्छ। ‘सम्मान घर’ उनीहरूको भूमिकालाई मान्यता दिने सानो तर अर्थपूर्ण प्रयास हो।’
देशभरका साझेदारसँग मिलेर रिसाइक्लिङ प्रणाली सुदृढ बनाउन काम गर्दै आएको कोकाकोलाले वाउ सेन्टरको विकासमा सहयोग पुर्याएको छ र वातावरणीय सुधार तथा समुदायको समग्र हितका लागि विभिन्न पहलमा सहकार्य गरिरहेको छ।
कोकाकोला बेभरेजेज नेपालकी कम्युनिटी एन्ड सस्टेनेबिलिटी म्यानेजर स्नेहा श्रेष्ठले भनिन्, ‘प्रभावकारी रिसाइक्लिङ प्रणाली केवल पूर्वाधारमा मात्र होइन, त्यसलाई सम्भव बनाउने मानिसको कल्याणमा पनि आधारित हुन्छ। ‘सम्मान घर’ले साझा र राम्रो भविष्य निर्माण गर्ने कम्पनीको प्रतिबद्धता झल्काउँछ । यसले वातावरणीय प्रगति अघि बढाउनुका साथै समुदायलाई सशक्त बनाउने काम गर्नेछ।’