काठमाडौं। नेपाल सरकारले निषेधित क्षेत्रमा पदयात्रा गर्न चाहने विदेशी पर्यटकका लागि नयाँ व्यवस्था लागू गरेको छ। अब पर्यटकले एक्लै पनि पदयात्रा अनुमति (ट्रेकिङ परमिट) पाउने भएका छन्।
अध्यागमन विभागका अनुसार यसअघि निषेधित क्षेत्रमा जान एकल पदयात्रीलाई अनुमति दिने प्रचलन थिएन। सो कारण पर्यटकहरूले अनिवार्य रूपमा साथी खोज्नुपर्ने बाध्यता थियो। नयाँ निर्णयसँगै अब एक जना पदयात्रीले पनि अनुमति पाउन सक्नेछन्, जसले पर्यटनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालका अनुसार पर्यटकलाई हुने असहजता कम गर्न र पर्यटन प्रवर्द्धनलाई टेवा पुर्याउन यस्तो निर्णय गरिएको हो। यद्यपि, अनुमति दिँदा पालना गर्नुपर्ने शर्तहरू भने यथावत् रहनेछन्।
नयाँ व्यवस्थाअनुसार पदयात्रा अनुमति लिन एजेन्सीमार्फत आवेदन दिनुपर्ने, अनिवार्य रूपमा ट्रेकिङ गाइड साथमा हुनुपर्ने र आपतकालीन अवस्थामा उद्धारको जिम्मेवारी सम्बन्धित एजेन्सीले लिनुपर्नेछ।
यसैबीच, समूहमा पदयात्रा गर्ने व्यवस्थामा पनि संशोधन गरिएको छ। अब एजेन्सीमार्फत अनुमति लिँदा एक समूहमा बढीमा ७ जना पदयात्री मात्र रहने गरी सीमा तोकिएको छ। धेरै संख्यामा पदयात्री हुँदा सुरक्षामा चुनौती हुने र एक गाइडबाट सबैको निगरानी गर्न कठिन हुने अवस्थालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ।
त्यसैगरी, पदयात्रा अनुमति प्रणालीलाई थप सहज बनाउँदै अब अनलाइनमार्फत आवेदन दिने सुविधा समेत उपलब्ध गराइएको छ। विदेशी पर्यटकले आवेदन दिँदा नेपालको स्वीकृत भिसा नम्बर उल्लेख गर्नुपर्ने व्यवस्था परिमार्जन गर्दै भिसा आवेदन नम्बरका आधारमा पनि अनुमति पाउने व्यवस्था गरिएको छ। यससँगै पर्यटकले आफ्नै मुलुकबाटै पदयात्रा अनुमति आवेदन दिन सक्ने भएका छन्।
हाल नेपालका १३ जिल्लालाई विदेशी पर्यटकका लागि निषेधित क्षेत्रको रूपमा तोकिएको छ। ती क्षेत्रमा जानुअघि अनिवार्य रूपमा अध्यागमन विभागबाट पदयात्रा अनुमति लिनुपर्ने प्रावधान यथावत् रहेको छ।