काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी ऊर्जा पूर्वाधारमाथि हमला गर्न अस्थायी रुपमा रोकेको घोषणा गरेपछि सोमबार अन्तर्राष्ट्रिय तेल बजारमा भारी गिरावट आएको छ।
इरानसँग ‘उत्पादनशील’ वार्ता भएको जनाउँदै ट्रम्पले यो निर्णय लिएका थिए। ट्रम्पको भनाइसँगै वैश्विक मानक मानिने ‘ब्रेन्ट क्रुड’को मूल्य ७.१ प्रतिशतले घटेर प्रतिब्यारेल ९८.७५ अमेरिकी डलर कायम भएको छ।
जबकि, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) क्रुडको मूल्य ८.२ प्रतिशतले झरेर ९०.२० डलर प्रतिब्यारेल कायम भएको छ। यो मूल्य बिहान ११ः३४ बजे (जीएमटस्)सम्म उच्च थियो।
ट्रम्पले सामाजिक सञ्जालमा गरेको पोस्टमा भने, ‘विगत दुई दिनमा इरानसँग भएका कुराकानी ‘तनावको सम्पूर्ण र पूर्ण समाधान’को दिशामा सकारात्मक रहेका छन्।’
वार्तामा पेन्टागनलाई इरानी विद्युत गृह र ऊर्जा पूर्वाधारमाथिका सम्भावित सैन्य हमला पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएका छन्। यो वार्ता सातभरि जारी रहने बताइएको छ।
ब्रेन्ट क्रुडको मूल्य विगत केही दिनदेखि एक सय अमेरिकी डलरभन्दा बढी प्रतिब्यारेल रहेको थियो। इरानको दक्षिणमा रहेको होर्मुजबाट विश्वको करिब २० प्रतिशतभन्दा बढी हिस्सा तेल ढुवानी हुन्छ।
इरानले आफ्नो इन्धन रहेको क्षेत्रमा आक्रमण गरे होर्मुज सदाका लागि बन्द गरिदिने प्रतिक्रिया दिएको थियो। उक्त आशंकाले बजारमा चिन्ता उत्पन्न भएको अवस्थामा ट्रम्पले पाँच दिनसम्म आक्रमण नगर्ने उद्घोष गरेका हुन्। यसअघि होर्मुज खुला नगरे इरानमाथि भारी आक्रमण गर्ने ट्रम्पको चेतावनी रहेको थियो।