काठमाडौं। नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा नाडा प्रतिनिधि मण्डलले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियासँग भेट गरेका छन्। भेटमा अटोमोबाइल क्षेत्रका विषयमा छलफल भएको छ।
भेटघाटमा मुख्यमन्त्री बानियाले अध्यक्ष उप्रेतीसहित नाडाको नयाँ केन्द्रीय कार्य समिति गठन भएकोमा बधाईसँगै शुभकामना दिएका थिए। यस क्रममा उनले ५० वर्ष पुगेको नाडासँग राजतन्त्र, प्रजातन्त्र र गणतन्त्र तीनै तहको सरकारको अनुभव रहेको भन्दै प्रसंशा गरे।
छलफलमा उनले देशको ५० प्रतिशत सवारी साधन बागमती प्रदेशमा दर्ता हुने गरेको सन्दर्भमा राजधानीमा ट्राफिक र पार्किङ्गलगायत समस्या रहेकाले समाधानका लागि प्रदेश सरकार र नाडा सहकार्य गरी अघि बढनुपर्ने धारणा राखे। यस क्रममा उनले देशका लागि आवश्यक हुने जनशक्ति तयार गर्ने, त्यसका लागि रोजगारी दिने र सवारी साधनको ट्रायल सेण्टर खोल्ने सम्बन्धमा पनि प्रदेश र नाडाबीच सहकार्य गरेर अघि बढ्न सकिने बताए।
छलफलमा नाडाका अध्यक्ष उप्रेतीले नाडा ७ वटा प्रदेशसहित २८८३ सदस्य कम्पनी रहेको बताएका थिए। नेपालको अटोमोबाइल क्षेत्रमा एक खर्बभन्दा बढीको लगानी रहेको बताउँदै उनले नेपालको अटोमोवाइल क्षेत्रमा वार्षिक पाँच हजार जनशक्तिको आवश्यकता हुने जानकारी दिए।
अध्यक्ष उप्रेतीले नाडाले बागमती प्रदेश सरकारसँग कुन-कुन क्षेत्रमा सहकार्य गरेर अघि बढ्न सकिन्छ? त्यस विषयमा मोडालिटी तयारगरी पेश गरिने बताए। सोही अवसरमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नेपालको प्रतिभा पलायनलाई रोक्न नेपालको अटोमोबाइल क्षेत्रले सक्दो प्रयत्न गरिरहेको बताए।
छलफलमा नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोवाइल प्रविधि तीव्रगतिले परिवर्तन भइरहेकाले त्यही स्तर र प्रकारको प्राविधिक जनशक्ति उत्पादन गर्दै जानुपर्ने चुनौती रहेको बताए। उनले नाडाले यसका लागि परिस्कृत पाठ्यक्रमसमेत तयार गरिरहेको, आवश्यक तालिमका लागि संशाधनको अभाव मात्र होइन उस्तै ट्रेनरसमेत खाँचो रहेको औँल्याए।
छलफलमा नाडाका संस्थागत उपाध्यक्षद्वय भद्र भण्डारी तथा गणेश भट्टराई, उपाध्यक्षद्वय विक्रम सिंहानिया तथा अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल, सहकोषाध्यक्ष निलमणि पाठकको उपस्थिति रहेको थियो। यसैगरी नाडाका केन्द्रीय कार्य समिति सदस्य दिपकराज गिरी, नारायणप्रसाद पौडेल र राजेश गिरी सहभागी थिए।