काठमाडौं। कालंगा हाइड्रोले आजदेखि आईपीओ बिक्री खुलाएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँबराबरको ४९ लाख कित्ता सेयर जारी गर्ने अनुमति पाएको छ।
पहिलो चरणमा १४ करोड रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १४ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको छ।
स्थानीयलाई छुट्याइएको सेयरमध्ये ९ लाख १० हजार कित्ता सेयर आयोजनाको अतिप्रभावित क्षेत्र बझाङको केदारस्युँ गाउँपालिका–४ र ५, बित्थडचिर गाउँपालिका–६ र ८, बुंगल नगरपालिका–३, ४, ६, ८ र ५, बैतडीको डिलासैनी गाउँपालिका–१ र २ तथा दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका–१ का स्थायी बासिन्दालाई र ४ लाख ९० हजार कित्ता सेयर बझाङको केदारस्युँ, बित्थडचिर र बुंगल नगरपालिका, बैतडीको डिलासैनी गाउँपालिका र दार्चुलाको शैल्यशिखर नगरपालिकाको अतिप्रभावित क्षेत्रमा नपरेका सम्पूर्ण वडाका स्थानीयमा छुट्याइएको छ।
सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ३ करोड ५० लाख रुपैयाँबराबरको ३ लाख ५० हजार कित्ता साधारण सेयर विदेशमा रोजगार गरिरहेका नेपालीका लागि निष्कासन गर्न लागेको छ।
यो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीयले छिटोमा चैत २४ गते र ढिलोमा २०८३ वैशाख ९ गतेसम्म आवेदन दन पाउनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने छिटोमा चैत १५ गते र ढिलोमा चैत २४ गतेसम्म आवेदन दिन पाउनेछन्।
कम्पनीको आईपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।