काठमाडौं। नेपाल आयल निगमले इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि अवरुद्ध इन्धन आपूर्तिको समय पनि खाना पकाउने एलपी ग्यास तीन महिनायताकै उच्च आयात गरिएको विवरण सार्वजनिक गरेको छ।
तर, निगमले ठूलो परिमाणमा ग्यास आयात गरे पनि सर्वसाधारण उपभोक्ताले कालोबजारी हुँदा मागअनुसार खरिद गर्न सकेका छैन। निगमले फागुनमा मात्रै खाना पकाउने ग्यास ठूलो परिमाणमा भित्र्याए पनि बजारमा सहज आपूर्ति हुन नसक्दा उपभोक्ताले सास्ती बेहोर्नुपरेको हो।
भन्सार विभागको तथ्यांकअनुसार फागुनमा मात्रै ५१ हजार १९२ टन ग्यास आयात भएको छ। यो आयात पछिल्ला महिनाको तुलनामा उल्लेखनीय वृद्धि हो। निगमले यसअघि पुसमा ४७ हजार ४६० टन र माघमा ४६ हजार २८५ टन ग्यास आयात गरेको थियो। मागको चाप व्यवस्थापन गर्न निगमले आपूर्ति बढाएको हो।
गत वर्षको सोही अवधि फागुनमा निगमले ३ हजार ४३८ टन ग्यास आयात भएको थियो। यो वर्षको फागुनको आयात करिब १५ गुणासम्म बढी हो।
बजारमा हाहाकार भएपछि निगमले फागुन २८ देखि ‘आधा सिलिन्डर ग्यास’ बिक्री वितरण गरिरहेको छ। त्ैपनि उपभोक्ताले माग अनुसार पाएका छैनन्।
अमेरिका, इजरायल र इरानबीचको युद्धका कारण कच्चा तेल र एलपीजी आपूर्ति शृंखलामा अवरोध हुँदा एसियाली बजारमा मूल्य र उपलब्धतामा दबाब परेको छ। यसको प्रत्यक्ष असर नेपालजस्ता आयातमा निर्भर मुलुकमा परेको छ।
नेपालले इन्धन आयात भारतबाट गरिरहे पनि पछिल्लो होर्मुज जलमार्गमा इरानले अवरोध गर्दा नेपालमा समेत ग्यास अभाव देखिएको हो।