काठमाडाैं। नेपालस्थित अमेरिकी दूतावासले इन्टरनेसनल डेभलपमेन्ट इन्स्टिच्युट र आद्यन्त अड्भाइजरीसँगको साझेदारीमा देशव्यापी उद्यमशीलता सीपनिर्माण कार्यक्रम सुरु नेपालगञ्जबाट गरेको छ।
यस पहलले प्रारम्भिक चरणमा रहेका नेपालभरका उद्यमीलाई दिगो व्यवसाय निर्माण गर्न, लगानी आकर्षित गर्न र क्षेत्रीय तथा विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न आवश्यक व्यावहारिक सीप उपलब्ध गराउनेछ।
यो कार्यक्रम लुम्बिनी प्रदेशमा नेपालगञ्जबाट सुरु भई धनगढी, विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा र पोखरामा जारी रहनेछ। सातै प्रदेशका गरी करिब २०० उद्यमी प्रत्यक्ष कार्यशाला गोष्ठी र भर्चुअल बुटक्याम्प शृङ्खलामा सहभागी हुनेछन्।
कार्यक्रमअन्तर्गतका प्रशिक्षण सत्रहरू व्यापार(व्यवसायका आधारभूत पक्ष, बजारको पुष्टीकरण, लगानीकर्तासँगको सञ्चार, डिजिटल बजारीकरण र निर्यातसम्बन्धी तयारीमा केन्द्रित छन्। यी मूलभूत दक्षताले उद्यमीहरूलाई आफ्ना नवीन सोचलाई रोजगारी सृजना गर्ने, व्यापार बढाउने र नेपालको दीर्घकालीन आर्थिक वृद्धि गर्ने किसिमका व्यवहार्य कम्पनीमा रूपान्तरण गर्न मद्दत गर्नेछन्।
‘आर्थिक वृद्धि तथा नवप्रवर्तनका निम्ति उद्यमीहरू अपरिहार्य छन्,’ नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले भने, ‘बजारको मागअनुसार विस्तार गर्ने सकिने व्यवसायहरूको निर्माणमा नेपाली संस्थापकलाई सहयोग पुऱ्याई यस कार्यक्रमले नेपालको निजी क्षेत्रको सुदृढीकरण गर्नुका साथै अमेरिका र नेपालबीच व्यापार र वाणिज्य सहकार्यका नयाँ अवसर सृजना गर्छ।’
यो पहल अमेरिका-नेपाल वाणिज्य कूटनीति शृंखलाको एक हिस्सा हो, जसले उद्यमशीलता, नवप्रवर्तन र निजी क्षेत्रको वृद्धिलाई प्रवर्धन गरी आर्थिक सम्बन्धको विस्तार गर्दछ। व्यवसायका मोडललाई परिष्कृत गर्न र उद्यमहरूलाई वृद्धि तथा अमेरिकी फर्मसँग साझेदारीका निम्ति तयार पार्न व्यावहारिक तालिम प्रदान गर्दै यस कार्यक्रमले उद्यमका संस्थापकलाई मेन्टर, लगानीकर्ता र औद्योगिक विज्ञसँग जोड्दछ।
नेपालभर उद्यमशीलतासम्बन्धी सहयोगमा पहुँचको विस्तार गरी यो कार्यक्रमले नेपालको नवप्रवर्तनको वातावरण ९इकोसिस्टम०लाई मजबुत बनाउनुका साथै दुई देशबीचको आर्थिक सहकार्यलाई अघि बढाउनेछ।