काठमाडौं। जापानी कार ब्रान्ड सुजुकीको पहिलो विद्युतीय कार ई भिटाराको नेपाली बजारमा बुकिङ खुलेको छ। नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सिजी मोटोकर्पले आजदेखि सुरू भएको वाडा अटो शो २०२६ मा सार्वजनिक गर्दै गाडीको बुकिङ सुरू गरेको हो।
कम्पनीले सुरुआती भेरियन्टको मूल्य ४९ लाख ९९ हजार तोकेर बुकिङ लिन थालेको छ। प्यासेन्जर कार सेगमेन्टमा राम्रो पकड रहेको र नेपाली उपभोक्ताको रोजाइमा परेको सुजुकी यसअघि आईसी इन्जिन भर्सनमा उपलब्ध थियो। अब भने सिजी मोटोकर्प सुजुकी ई भिटारा एसयूभी लिएर नेपाली ईभी बजारमा प्रतिस्पर्धामा उत्रिएको हो।
कम्पनीका अनुसार ई भिटारामा एलएफपी ब्लेड ब्याट्री प्रयोग भएको छ। दुई ब्याट्री अप्सनमा उपलब्ध ई भिटारामा ४९ र ६१ किलोवाट आवरको ब्याट्री छ। मोटर भने १०६ र १२८ किलोवाटको रहेको छ।
मारुती सुजुकी ई–भिटाराको लम्बाइ ४२७५ एमएम, चौडाइ १८०० एमएम र १६३५ एमएमको उचाइ रहेको छ। यो ईभी २७०० एमएमको ह्वीलबेसमा बनेको हो। सुजुकीको नयाँ ईभी टेक्नोलोजी र फिचरले भरिपूर्ण ई भिटारामा अगाडि र पछाडि नै ट्राइस्ल्यास डिजाइनको एलईडी डीआरएल दिएको छ। चार्जिङ पोर्ट भने फ्रन्टमा पाउन सकिन्छ।
ई भिटारामा इन्टेरियरमा फ्लोटिङ ड्यूल स्क्रीन, अटोमेटीक क्लाइमेट कन्ट्रोल, ३६० डिग्री क्यामरा, टु स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, एडास सिस्टम, प्यानारोमिक सनरुफ, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, हिल डिसेन्ट कन्ट्रोल, हिटेड ओआरभीएम, वायरलेस फोन चार्जरलगायत फिचर छन्।