काठमाडौं। भारतीय दुई पाङ्ग्रे विद्युतीय ब्रान्ड एथरको रिज्टा एस नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जिले रिज्टा एस नेपाली बजारमा सार्वजनिक गरेको हो।
नाइमा एक्स्पो २०२५ मा सार्वजनिक गरिएको एथर रिज्टा जीले सकारात्मक प्रतिक्रिया पाएसँगै कम्पनीले रिज्टा–एस सार्वजनिक गरेको हो। कम्पनीले रिज्टा एस २ लाख ७४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराउने जनाएको छ।
वैद्य इनर्जिले एथरको सस्तो मोडलको स्कुटर सार्वजनिक गरेको छ। यस मोडेलले प्रिमियम आराम, दैनिक प्रयोगमा सहजता र उत्कृष्ट मूल्यलाई एकैसाथ उपलब्ध गराउँदै विद्युतीय सवारीतर्फको रूपान्तरणलाई अझ तीव्र बनाउने लक्ष्य राखेको छ।
नेपाली परिवारको आवश्यकता ध्यानमा राखी डिजाइन गरिएको रिज्टा एसलाई सबैभन्दा व्यवहारिक र सहज पहुँचयोग्य इलेक्ट्रिक स्कुटरका रूपमा प्रस्तुत गरिएको छ।
रिज्टा एसमा २.७ किलोवाट आवरको ब्याट्री दिइएको छ। यो स्कुटरले एक पटकको फुल चार्जमा १२३ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ। यसको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा रहेको छ।
यसमा रिभर्स मोड, हिल होल्ड असिस्ट, टर्न बाई टर्न नेभिगेसन, गुगल म्याप नेभिगेसन, एलइडी हेडल्याम्प, स्लिम र्यापराउन्ड टेललाइट, ३४ लिटर अन्डर सिट स्टोरेज, टीएफटी स्क्रिन, डिस्क ब्रेक जस्ता फिचर उपलब्ध छ।
यसमा रिज्टा जेड भेरियन्टमा जस्तो टच स्क्रिन भने उपलब्ध छैन। यो स्कुटरले बजाज चेतक तथा टीभीएस आइक्यूव जस्ता स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ।