काठमाडौं। नेपाल राष्ट्र बैंकमा करिब एक महिनादेखि रिक्त रहेका दुई डेपुटी गभर्नर पदमा आज नियुक्ति हुने सम्भावना देखिएको छ। अपराह्न १ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले १८ जना कार्यकारी निर्देशकमध्येबाट दुई जनालाई यो जिम्मेवारी सुम्पने तयारी गरेको हो।
नयाँ सरकार गठन भएसँगै बसेको यस बैठकबाट राष्ट्र बैंकले एक महिनादेखि खाली रहेको डेपुटी गभर्नर पदमा नयाँ नेतृत्व पाउने सम्भावना रहेको छ। विशेष गरी नयाँ सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘मेरिट बेस’ (कार्य सम्पादन र उच्च योग्यता)का आधारमा मात्र नाम सिफारिस गर्न गभर्नर विश्वनाथ पौडेललाई स्पष्ट निर्देशन दिएसँगै यस पटकको नियुक्तिमा ‘फाइल बढुवा’ भन्दा ‘प्रतिस्पर्धी क्षमता’ हाबी हुने देखिएको हो।
यसैबीच सोमबार अर्थ मन्त्रालयमा डा. स्वर्णिम वाग्ले र राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलबीच डेपुटी गभर्नर नियुक्तिका विषयमा छलफल भएको थियो। छलफलका क्रममा गभर्नरले नियुक्तिका लागि आवश्यक नामहरू सिफारिसका बिषयमा छलफल गरिएको स्रोत बताउँछ।
विद्यमान व्यवस्थाअनुसार गभर्नरले राष्ट्र बैंकका कार्यकारी निर्देशकमध्येबाट चार जनाको नाम सिफारिस गर्ने र तीमध्येबाट मन्त्रिपरिषद्ले दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्ने प्रावधान रहेको छ। तर, हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक कार्यरत छन्। यस पटक अर्थमन्त्री वाग्लेले कार्य सम्पादन र उच्च योग्यतामा नाम सिफारिस ल्याउन सोमबार नै गभर्नर पौडेललाइ भनिसकेका छन्।
हाल कार्यकारी निर्देशकहरूमा नरेश शाक्य, रेवती नेपाल, रामु पौडेल, विश्रुत थापा, दयाराम शर्मा, गुरुप्रसाद पौडेल, किरण पण्डित, डा. सत्येन्द्र तिमल्सिना, चेतप्रसाद उप्रेती, रोशनकुमार सिग्देल, डा. रामशरण खरेल, डा. डिल्लीराम पोखरेल, दीर्घबहादुर रावल, निश्चल अधिकारी, अनुज दाहाल, दीपकराज लामिछाने, राजनविक्रम थापा र राजेन्द्र भट्टराई रहेका छन्।
राष्ट्र बैंकभित्र मेरिटलाई मुख्य रूपमा आन्तरिक प्रतिस्पर्धा (लिखित परीक्षा) मा प्राप्त गरेको सफलतासँग जोडेर हेरिएको छ। १८ कार्यकारीमध्ये जसले हरेक तहमा प्रतिस्पर्धा गरेर नाम निकालेका छन्, उनीहरु मेरिडका आधारमा नियुक्त हुने डेपुटी गभर्नरको बलियो दाबेदार देखिन्छन्।
लिखित परीक्षामा ‘टपर’ भनेर भिनिएका नियामक विभाग प्रमुख रामु पौडेल हुन भने विश्रुत थापा, दयाराम शर्मा, गुरुप्रसाद पौडेल, किरण पण्डित, डा. सत्येन्द्र तिमल्सिना, निश्चल अधिकारी र अनुज दाहाल जस्ता अधिकृतहरू विभिन्न समयमा लिखित परीक्षाबाटै माथिल्लो तहमा पुगेका हुन्।
रामु पौडेल मेरिटको सूचीमा सबैभन्दा अगाडि देखिन्छन्। उनले दोस्रो श्रेणी (द्वितीय) र पहिलो श्रेणी (प्रथम) दुवैको लिखित परीक्षामा एक नम्बर (टपर) मा नाम निकालेका थिए। पौडेलसँगै प्रथम श्रेणीको लिखित परीक्षामा दुईवटा मात्र सिट हुँदा दुई नम्बरमा नाम निकालेर उनी कार्यकारी निर्देशक बनेका हुन्। लिखित परीक्षाको नतिजा र वरियता दुवैमा उनी अब्बल मानिन्छन्।
यता लिखित परिक्षामार्फत् कार्यकारी भएका गुरु पौडेल पनि कार्य सम्पादन मूल्यांकनमा डेपुटी गभर्नरको प्रवल दाबेदारका रुपमा हेरिन्छ। लिखित परिक्षाबाटै कार्यकारी निर्देशकमा आइपुगेका बैंक सुपरिवेक्षण विभागका दीर्घ रावललाई पनि कार्य सम्पादनको आधारमा प्रबल दाबेदारमा हेरिन्छ।
यस्तै, अर्का कार्यकारी निर्देशक दयाराम शर्मा पनि लिखित परीक्षाबाटै आफ्नो क्षमता प्रमाणित गरेका छन्। सुरुका केही प्रयासमा असफल भए पनि पछि उनले लिखित परीक्षामै एक नम्बरमा नाम निकालेका थिए। यता, किरण पण्डित र डा. सत्येन्द्र तिमल्सिना, यी दुवै कार्यकारी निर्देशकहरूले कहिल्यै ‘ब्याक’ नभई नियमित रूपमा लिखित परीक्षा उत्तीर्ण गर्दै आएको दाबेदार हुन।
मेरिटलाई आधार मान्दा उनीहरू पनि सिफारिसको बलियो घेरामा पर्छन्। निश्चल अधिकारी र अनुज दाहाल पनि पछिल्लो समय लिखित प्रतिस्पर्धाबाटै नाम निकालेर कार्यकारी निर्देशकको जिम्मेवारीमा पुगेका हुन्।