काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले लगानीकर्ताका लागि रातको समयमा पनि सेयर खरिद-बिक्रीको अर्डर राख्न मिल्ने ‘आफ्टर मार्केट अर्डर’ (एएमओ)को नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ।
धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समितिले नेप्सेले प्रस्ताव गरेको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली’ संशोधनलाई स्वीकृत गरेसँगै अब लगानीकर्ताले बजार बन्द भएपछि पनि अर्डर पोस्ट गर्न पाउने भएका हुन्।
विशेष गरी वैदेशिक रोजगारीमा रहेका र नेपालको बजार समयमा व्यस्त रहने लगानीकर्ताहरूलाई लक्षित गर्दै यो सुविधा ल्याइएको हो। नयाँ व्यवस्थाअनुसार साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म अर्डर राख्न सकिनेछ भने यस्तो अर्डर अघिल्लो दिनको अन्तिम मूल्यको दुई प्रतिशत तल-माथिको सीमाभित्र हुनुपर्ने छ।
कारोबार नियमावलीमा गरिएको परिवर्तनले सर्किट ब्रेकरको विद्यमान व्यवस्थालाई समेत परिमार्जन गरेको छ। अब सेयर बजार खुलेको पहिलो एक घण्टामा नेप्से सूचक ५ प्रतिशतले घटे वा बढेमा १५ मिनेटका लागि कारोबार स्थगित हुनेछ।
त्यसपछि बजार फेरि खुलेर यदि ८ प्रतिशतको उतारचढाव आएमा उक्त दिनका लागि कारोबार पूर्ण रूपमा बन्द गरिने छ। यसअघि ४, ५ र ६ प्रतिशतको तीन चरणमा सर्किट ब्रेकर लाग्ने व्यवस्था रहेकोमा अब त्यसलाई दुई चरणमा मात्र सीमित पारिएको छ।
यसैगरी, व्यक्तिगत सूचीकृत कम्पनीको सेयर मूल्यमा हुने दैनिक परिवर्तनको सीमालाई पनि बढाइएको छ। अब एउटै कम्पनीको सेयर मूल्य एकै दिन १५ प्रतिशतसम्म घटबढ हुन पाउने गरी विनियमावली स्वीकृत भएको छ। जुन यसअघि १० प्रतिशत मात्र थियो। यसका साथै, बजार खुल्नुअघिको ‘प्रि-ओपन सेसन’मा अर्डर राख्न पाउने मूल्यको सीमालाई पनि २ प्रतिशतबाट बढाएर ३ प्रतिशत पुर्याइएको छ।