काठमाडौं । हिमालयन रिइन्सोरेन्स कम्पनीको सञ्चालकबाट रोहित गुप्ता र अमित मोरले राजीनामा दिएका छन् । हिमालयन रिइन्स्योरेन्स कम्पनीको भृकुटी ब्रोकरबाट प्राप्त गर्न बाँकी रहेको रकम दुरूपयोग भएको चर्चाबीच गुप्ताले राजीनामा दिएका हुन् ।
स्रोतका अनुसार हिमालयन रिले बिक्री गरेको सेयर वापतको रकम भृकुटी स्टक ब्रोकरले दिएको थिएन । हिमालयनको व्यवस्थापनले भृकुटीलाई ३ पल्टसम्म पनि एड्भान्स रकम फिर्ता गर्न ताकेता गरे तापनि रकम प्राप्त नभएपछि सञ्चालक समिति सदस्य तथा लगानी समितिका संयोजक साहिल अग्रवाललाई जानकारी गराएको थियो तर अग्रवालले सो जानकारी बोर्डलाई नगराएको स्रोत बताउँछ । पछि सोही रकम दुरूपयोग भएर व्यवसायी दीपक भट्टको नाममा सेयर किन्न प्रयोग भएको विषयमा अहिले अनुसन्धान भइरहेको छ ।
अनुसन्धानका क्रममा भृकुटीले हिमालयन रिलाई २ अर्ब ७४ करोड रूपैयाँ तिर्न बाँकी रहेको पाइएको छ । भृकुटीको खातामा सो रकम पेयबल्स (तिर्न बाँकी) मा देखिएको छ । उता भट्टको नाममा भृकुटी स्टक ब्रोकरमार्फत् २ अर्ब ९० करोड रूपैयाँको सेयर उधारोमा खरिद भएको पाइएको छ । यो रकम भृकुटीले खातामा रिसिभेबल्स (प्राप्त गर्न बाँकी) भनेर राखेको छ ।
भट्ट हिमालयन रिको व्यक्तिगत तर्फका ठूला सेयरधनी नाताले हिमालयन रिको पैसा भट्टको नाममा सेयर किन्न प्रयोग भएको आशंका गरिएको छ ।हिमालयन रिको लगानी समितिका संयोजक रहेका साहिलका दाजु सुलभ अग्रवालले आफ्नो प्रभावमा रहेको ब्रोकर भृकुटीबाट दीपक भट्टको नाममा सेयर किन्न दुरूपयोग गरिएको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् । यो विषय पेचिलो बनेपछि हिमालयन रिका अध्यक्ष शेखर गोल्छाले राजीनामा दिइसकेका छन् । गुप्ता र मोरको राजीनामा भने स्वीकृत हुन बाँकी छ ।
सञ्चालक भएका नाताले कम्पनीमा भइरहेको आर्थिक अपचलनको जवाफदेहीता आफूमा हुने भन्दै उनीहरूले राजीनामा दिएको स्रोत बताउँछ । हिमालयन लाइफले सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरण हेर्दा कम्पनीको इन्योरेन्स रिसिभेबल्स ३ अर्ब ४७ करोड रूपैयाँ छ । जबकी कम्पनीको ६ महिनाको प्रिमियम आम्दानी ३ अर्ब २९ करोड रूपैयाँमात्र छ । बिमा कम्पनीमा उधारो कारोबार मान्य नभए पनि पुनर्बिमा कम्पनीमा ३ महिनासम्मको उधारो स्वीकार्य हुन्छ । जसअनुसार हिमालयन रिको रिसिभेबल्स डेढ अर्बभन्दा बढी हुनु हुँदैन ।
तर, पुस मसान्तसम्म रिसिभेबल्स ३ अर्ब ४७ करोड देखिँदा अरू बढी रकम ब्रोकरमै रहेको संकेत कम्पनीको वित्तीय विवरणले पनि देखाउँछ । यति धेरै रिसिभेबल्स कसरी नियामकको राडर बाहिर रह्यो भन्ने पनि प्रश्नको विषय बनेको छ ।