काठमाडौँ। नेपाल राष्ट्र बैंकले मुलुकको सूचना प्रविधि (आइटी) क्षेत्रलाई थप प्रतिस्पर्धी र सुदृढ बनाउन वैदेशिक मुद्रा भुक्तानीको सीमामा वृद्धि गरेको छ। केन्द्रीय बैंकले विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै सफ्टवेयर खरिद, क्लाउड सेवा र अनलाइन उपकरणहरूका लागि हुने खर्चको सीमा बढाएको हो।
नयाँ व्यवस्थाअनुसार सफ्टवेयर वा सूचना प्रविधिसँग सम्बन्धित सेवाहरू खरिद गर्नका लागि बैंकहरूले अब प्रतिवर्ष ३ हजार अमेरिकी डलर सम्मको 'प्रिपेड कार्ड' जारी गर्न सक्नेछन्। यसअघि यस्तो सीमा न्यून हुँदा कम्पनीहरूले अन्तर्राष्ट्रिय सफ्टवेयर र लाइसेन्स खरिद गर्न कठिनाइ भोग्दै आएका थिए। साथै, राष्ट्र बैंकले डलर कमाउनेलाई थप सुविधा दिएको छ।
यदि कुनै आइटी कम्पनीले आफ्नो सेवा विदेशमा निर्यात गरेर डलर आम्दानी गर्छ भने, त्यस्ता कम्पनीका लागि प्रिपेड कार्डको सीमा बढाएर वार्षिक ५ हजार डलर पुर्याइएको छ। यसले बढीभन्दा बढी सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न कम्पनीहरूलाई प्रोत्साहित गर्नेछ।
यस्तै, नयाँ व्यवस्थाअनुसार अनलाइनमार्फत वैदेशिक मुद्रा आर्जन गर्ने व्यक्तिगत फ्रिल्यान्सर वा डिजिटल उद्यमीहरूले आफ्नो कामसँग सम्बन्धित सफ्टवेयर, एप्लिकेसन वा अन्य डिजिटल सेवा खरिद गर्न अब वार्षिक २५ हजार अमेरिकी डलर सम्म बैंकिङ उपकरणमार्फत भुक्तानी गर्न पाउनेछन्।
यो व्यवस्थाले अन्तर्राष्ट्रिय प्लेटफर्ममा काम गर्ने नेपालीहरूलाई व्यावसायिक उपकरणहरू खरिद गर्न सहज बनाउनेछ। विशेष गरी सफ्टवेयर विकास गर्ने कम्पनीहरू, फ्रिल्यान्सर र डिजिटल सेवा निर्यात गर्ने युवाहरूलाई नयाँ व्यवस्थाले ठुलो राहत पुग्ने देखिएको छ।