काठमाडौं। नेपालका क्यासिनोहरूमा विदेशी पर्यटकले जित्ने ठूलो परिमाणको रकम भुक्तानीमा नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ। केन्द्रीय बैंकले एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै क्यासिनो विनिंगको भुक्तानीमा नगदको सीमा तोक्दै बाँकी रकम बैंकमार्फत मात्र दिनुपर्ने अनिवार्य व्यवस्था गरेको हो।
खेलाडीबाट क्यासिनो खेलको लागि आवश्यक रकम अमेरिकी डलर ५ हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा नगदै लिन सकिने व्यवस्था पहिलेकै हो। सोभन्दा बढी रकमको हकमा भन्सार घोषणा गरी प्रमाणित गरेको हुनुपर्नेछ वा बैंकिङ्ग प्रणालीमार्फत्रकम प्राप्त गरेको हुनुपर्नेछ। साथै, इजाजतपत्रप्राप्त क्यासिनोहरूले बैंक तथा वित्तीय संस्थाहरूसँग आवश्यक सम्झौता गरी क्यासिनो खेलाडीसँग पोइन्ट अफसेलमार्फत्विदेशी मुद्रा प्राप्त गर्न सक्नेछन्।
तर, नयाँ व्यवस्थाअनुसार खेलाडीबाट क्यासिनो खेलको लागि आवश्यक रकम नेपाली रुपैयाँमा लिने भएमा नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १७ बमोजिमको व्यवस्था पालना गर्नुपर्नेछ।
यस्तै, ५ हजार डलरभन्दा बढी रकम खेलाडीको बैंक खातामा जम्मा हुनेगरी भुक्तानी गर्नुपर्नेछ। खेलाडीले नेपाली रुपैयाँ जम्मा गरेकोमा जितेको रकम समेत नेपाली रुपैयाँमा मात्र भुक्तानी गर्नु पर्नेछ। तर, राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १७ बमोजिम स्वदेशी मुद्रा स्वीकार गर्दा विदेशी मुद्रा सटही भएको कागजातको आधारमा नेपाली रुपैयाँ नगद जम्मा गरेको भएमा जितेको रकम अमेरिकी डलर ५ हजारसम्म नगदै भुक्तानी गर्न सकिनेछ र सो भन्दा बढी रकम खेलाडीको बैंक खातामा जम्मा हुनेगरी विदेशी मुद्रा भुक्तानी गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ। क्यासिनो सञ्चालकले सोझै नगदमा ठूलो रकम दिन पाउने छैनन्।
ठूलो परिमाणको नगद कारोबारले सम्पत्ति शुद्धीकरणको जोखिम बढाउने भन्दै राष्ट्र बैंकले यो सीमा तोकेको हो। बैंकिङ च्यानलबाट भुक्तानी हुँदा कुन पर्यटकले कति रकम जितेको हो भन्ने स्पष्ट अभिलेख रहनेछ।क्यासिनोले भुक्तानी गर्दा विदेशी पर्यटकको राहदानी र भिसाका आधारमा मात्र भुक्तानी दिनुपर्नेछ। जितेको रकम बाहिर लैजानका लागि बैंकहरूले राष्ट्र बैंकको नियमअनुसार सटही सुविधा प्रदान गर्नेछन्।
यो व्यवस्था भारतीय पर्यटकको हकमा पनि लागू गरिएको हो। नेपालका क्यासिनोहरूको मुख्य बजार भारतीय पर्यटक हुन्। यसअघि भारतीय पर्यटकहरूले क्यासिनोमा जितेको ठूलो रकम नगदमै बुझ्ने र अनौपचारिक माध्यमबाट लैजाने गरेको आशंका भइरहेका बेला राष्ट्र बैंकले यस्तो कडाइ गरेको हो। भारतीय पर्यटकले पनि क्यासिनोमा जितेको रकम ५ हजार अमेरिकी डलर (वा सो बराबरको भारतीय रुपैयाँरनेपाली रुपैयाँ) सम्म मात्र नगदमा पाउन सक्नेछन्।
यदि कुनै भारतीय पर्यटकले ५ हजार डलरभन्दा बढी रकम जितेमा, सो बढी भएको रकम क्यासिनोले अनिवार्य रूपमा सम्बन्धित व्यक्तिको बैंक खातामा 'बैंकिङ च्यानल' मार्फत मात्र पठाउनुपर्नेछ। क्यासिनोहरूले भारतीय पर्यटकहरूबाट प्राप्त हुने भारतीय रुपैयाँको छुट्टै बैंक खाता खोल्नुपर्नेछ। भारतीय पर्यटकले बाजी जितेमा सोही खाताबाट बैंकिङ च्यानल प्रयोग गरी भुक्तानी दिनुपर्ने व्यवस्था गरिएको छ।
यदि भारतीय पर्यटकले नेपालका एटिएम वा पिओएस मेसिन प्रयोग गरी नेपाली रुपैयाँ झिकेर क्यासिनो खेलेका छन् र जितेका छन् भने, उनीहरूले ५ हजार डलरभन्दा बढीको भुक्तानी डलरमै बैंक खातामा फिर्ता पाउनेछन्। तर, यसका लागि उनीहरूले एटिएमबाट पैसा झिकेको रसिद अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।