काठमाडौं। नेपालको डिजिटल भुक्तानी प्रणालीमा अग्रणी भूमिका खेल्दै आएको फोनपे पेमेन्ट सर्भिस एक वर्ष करिब एक अर्ब रुपैयाँको व्यापार गरेको छ। कम्पनीले क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालमा गराएको ‘इश्युआर रेटिङ’ मा पाएको रेटिङले कम्पनीको वित्तीय साख र व्यवसायिक दायरा निकै बलियो देखिएको हो।
कम्पनीले व्यावसायिक विस्तारका लागि छिट्टै सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) जारी गर्ने तयारीका साथ उक्त रेटिङ गराएको हो। फोनपेले ‘बुक बिल्डिङ’ विधिमार्फत आईपीओ निष्कासन गर्ने योजना बनाएको रेटिङ रिपोर्टमा उल्लेख छ। इक्रा नेपालले कम्पनीको समग्र व्यवसायिक अवस्थाको मूल्यांकन गर्दै ‘ए माइनस’ रेटिङ प्रदान गरेको छ। यो रेटिङले फोनपेसँग आफ्ना वित्तीय दायित्वहरू समयमै पूरा गर्न सक्ने पर्याप्त क्षमता रहेको र यसमा लगानीको जोखिम न्यून रहेको संकेत गर्दछ।
कम्पनीको वित्तीय अवस्था
पछिल्लो समय नेपालमा बढ्दो डिजिटल कारोबारको प्रत्यक्ष लाभ फोनपेले उठाएको देखिन्छ। कम्पनीको आम्दानीमा पछिल्ला चार वर्षमा वार्षिक औषत ६१ प्रतिशतको उत्साहजनक वृद्धि देखिएको छ। आर्थिक वर्ष २०२४ मा ७२ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले आर्थिक वर्ष २०२५ मा ९७ करोड ४० लाख रुपैयाँको व्यवसाय गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामै कम्पनीले ६१ करोड १० लाख रुपैयाँ आम्दानी गरिसकेको आधारमा यो वर्ष यसको व्यापार १ अर्ब २० करोड रुपैयाँभन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ। कम्पनीको पुँजीमा भएको आम्दानीको अनुपात ५७ प्रतिशत जति उच्च हुनुले यसको नाफा कमाउने क्षमता निकै बलियो रहेको पुष्टि गर्छ।
बजारमा फोनपेको उपस्थिति निकै सुदृढ छ। क्यूआर कोडमा आधारित भुक्तानीमा करिब ९७ प्रतिशत र अन्तर–बैंक रकमान्तरमा ८६ प्रतिशत बजार हिस्सा ओगटेको फोनपेसँग हाल ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू र करिब १७ लाख मर्चेन्टहरू आबद्ध छन्।
सन् २००४ देखि नेपालको फिनटेक क्षेत्रमा सक्रिय एफवान सफ्ट ग्रुपको ६६ प्रतिशत सेयर हिस्सा रहेको यो कम्पनीले पछिल्लो समय प्रविधिको प्रयोगमार्फत आफ्नो व्यवसायलाई व्यापक विस्तार गरेको छ। अनुभवी सञ्चालक समिति र दक्ष व्यवस्थापन टोली हुनु कम्पनीको अर्को बलियो पक्ष हो।
कम्पनीको सबैभन्दा उत्साहजनक पक्ष यसको ऋणमुक्त अवस्था हो। स्थापनादेखि हालसम्म कुनै पनि बैंक ऋण नलिएको फोनपेले आफ्नो सबै विस्तार र लगानी आफ्नै पूँजी र सञ्चालन नाफाबाटै गर्दै आएको छ। सन् २०२६ को मध्य जनवरीसम्म कम्पनीसँग ६४ करोड ७० लाख रुपैयाँ बराबरको नगद मौज्दात रहेको छ, जबकि यसको वार्षिक सञ्चालन खर्च ५० देखि ५५ करोडको हाराहारीमा मात्रै छ।
यद्यपि, कम्पनीका सामु केही गम्भीर चुनौती र जोखिमहरू पनि विद्यमान छन्। फोनपेको कुल आम्दानीको करिब ८५ देखि ९० प्रतिशत हिस्सा अन्तर–बैंक रकमान्तरको सेवा शुल्कमा मात्र निर्भर छ। नियामक निकाय नेपाल राष्ट्र बैंकले हाल प्रति कारोबार १० रुपैयाँ रहेको यस्तो शुल्क (जसमा फोनपेको हिस्सा ६ रुपैयाँ छ) मा कटौती गरेमा कम्पनीको नाफामा सिधै असर पर्ने देखिन्छ। यसका साथै, नेपाल क्लियरिङ हाउस जस्ता सरकारी र बैंकहरूको स्वामित्व रहेका संस्थाहरूले न्यून शुल्कमा सेवा दिइरहेका कारण पनि फोनपेलाई मूल्य प्रतिस्पर्धामा रहिरहन कठिन हुन सक्छ।
कम्पनीले अहिले आफ्नो आम्दानीको स्रोत विविधीकरण गर्न भर्चुअल क्रेडिट कार्ड र अन्तरदेशीय भुक्तानी जस्ता नयाँ सुविधाहरूमा काम गरिरहेको छ। डिजिटल भुक्तानीमा देखिएको तीव्र प्रतिस्पर्धा, प्रविधिको द्रुत परिवर्तन र साइबर सुरक्षाका जोखिमहरूलाई व्यवस्थापन गर्दै अगाडि बढ्नु नै फोनपेको आगामी यात्राको मुख्य चुनौती हुनेछ। बलियो प्रवद्र्धक समूह, ऋणमुक्त अवस्था र नेपालको बढ्दो डिजिटल इकोसिस्टमले भने कम्पनीको भविष्य निकै आशालाग्दो देखाएको रेटिङ रिपोर्टको निष्कर्ष छ।