काठमाडौं। निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले ६ महिनामै साढे २ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ। कम्पनीले चालु आर्थिक वर्ष (२०२६) मै २ अर्ब ५३ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो।
क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले सार्वजनिक गरेको रिपोर्टअनुसार कम्पनीले गत आव २०२५ मा ५ अर्ब १० करोड ९० लाख रुपैयाँ बढीको व्यापार गरेको थियो। जुन अघिल्लो आव २०२४ को तुलनामा २५ प्रतिशतले बढी हो। आव २०२४ मा कम्पनीले ४ अर्ब ७ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो।
कम्पनीले यसअघि लिएको ऋण भार एक अर्ब बढीले घटाएपछि वित्तीय अवस्था राम्रो हुँदै गएको रिपोर्टमा उल्लेख छ। कम्पनीले ४ अर्ब ३६ करोड ८४ लाख रुपैयाँको ऋण सीमा घटाएर ३ अर्ब २५ करोड ८६ लाख रुपैयाँ कायम गरेको छ। जसमा इन्फोमेरिक्सले ‘त्रिपल बि–माइनस’ रेटिङ पुनः पुष्टी गरेको छ। साथै, एक अर्ब ४२ करोड ३७ लाख रुपैयाँ अल्पकालिनमा ‘ए–थ्रि’ रेटिङ दिइएको छ भने, सार्वजनिक निष्किाशन (आइपिओ) का लागि ‘त्रिपल बि–माइनस’ इश्युआर रेटिङ दिइएको छ।
इन्फोमेरिक्सका अनुसार श्री एयरलाइन्सको नाफामा पनि उत्साहजनक वृद्धि भएको छ। आर्थिक वर्ष २०२४ मा ३५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले २०२५ मा १३० प्रतिशतले वृद्धि गरेर ८२ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। चालु वर्षको ६ महिनामा भने कम्पनीले २६ करोड ४० लाख रुपैयाँ नाफा कमाउको रिपोर्टमा उल्लेख छ। कम्पनीको सञ्चालन नाफा मार्जिन करिब ३० प्रतिशत पुग्नु र इन्धनमा कम खर्चिलो मानिने ‘क्यु–४००’ जहाजहरूको संख्या बढाउनुलाई यसको प्रमुख मानिएको छ।
बजार हिस्साका हिसाबले श्री एयरलाइन्स हाल नेपालको आन्तरिक उडानमा १९ प्रतिशत हिस्सासहित तेस्रो ठूलो कम्पनीका रूपमा स्थापित भएको छ। सन् २०२४ मा १६ प्रतिशत रहेको यसको बजार हिस्सा २०२५ मा ३ प्रतिशतले बढेको हो।
हाल कम्पनीसँग १७ वटा जहाज र हेलिकप्टरको फ्लिट छ, जसमा ९ वटा फिक्स्ड विङ जहाज र ८ वटा हेलिकप्टर रहेका छन्। कम्पनीले साविकका इन्धन बढी खपत गर्ने सीआरज जहाजहरूलाई चार्टर्ड उडानमा मात्र सीमित गरी नियमित उडानमा क्यु–४०० जहाजहरू परिचालन गर्ने रणनीति लिएको छ।
कम्पनीको पूँजी संरचनामा पनि सुधार देखिएको छ। प्रवद्र्धकहरूले थप पूँजी लगानी गरेपछि र नाफा बढेपछि कम्पनीको ‘गियरिङ रेसियो’ ४.०३ बाट सुधारिएर २.२५ गुणामा झरेको छ। श्री एयरलाइन्सले निकट भविष्यमै सर्वसाधारणका लागि प्राथमिक सेयर जारी गर्ने तयारी गरिरहेको छ। आईपीओबाट संकलित रकमले बैंकको ऋण घटाउने र कम्पनीको वित्तीय अवस्थालाई थप सुदृढ बनाउने योजना रेटिङ रिपोर्टमा उल्लेख छ।
यद्यपि, उड्यान क्षेत्रमा देखिने बाह्य चुनौतीहरू भने कम्पनीका लागि जोखिमका रूपमा रहेका छन्।
मध्यपूर्वमा जारी तनावका कारण हवाई इन्धनको मूल्यमा हुने अस्वभाविक वृद्धि कम्पनीका लागि मुख्य चुनौती हो। श्री एयरलाइन्सको कुल सञ्चालन खर्चको करिब ५० प्रतिशत हिस्सा इन्धनले मात्र ओगट्छ। इन्धनको मूल्य वृद्धिले हवाई भाडा बढाउनुपर्ने र त्यसले यात्रुको संख्यामा कमी ल्याउन सक्ने जोखिम रहेको रिपोर्टमा उल्लेख छ। साथै, कम्पनीको आधाभन्दा बढी (५१ प्रतिशत) आम्दानी काठमाडौं–नेपालगन्ज र काठमाडौं–धनगढी दुईवटा मात्रै मुख्य रुटमा केन्द्रित हुनुलाई पनि जोखिमको रूपमा हेरिएको छ।
सन् १९९९ बाट हेलिकप्टर सेवामार्फत सञ्चालन सुरु गरेको यस कम्पनीको नेतृत्व अनुभवी व्यवसायी सुधिर मित्तलले गरिरहेका छन्। कम्पनीमा मित्तलकै ९९ प्रतिशत सेयर लगानी छ। उड्यान क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव, पोखरा र सुर्खेत जस्ता नयाँ गन्तव्यमा विस्तार गरिएको सेवा र अनलाइन बुकिङमा गरिएको सुधारले कम्पनीको साख बढाएको छ। तर, इन्धनको मूल्यमा हुने उतारचढाव र आन्तरिक उडानमा हुने तीव्र प्रतिस्पर्धालाई व्यवस्थापन गर्नु नै श्री एयरलाइन्सको आगामी मुख्य यात्राको चुनौती हुने रिपोर्टमा उल्लेख छ।