काठमाडौं। पाकिस्तानको राजधानी इस्लामाबादको कूटनीतिक क्षेत्रनजिकै अवस्थित इस्लामाबाद सेरेना होटल केवल एक पाँचतारे होटल मात्र होइन, विलासिता, संस्कृति र शान्त वातावरणको दुर्लभ संयोजन प्रस्तुत गर्ने विशिष्ट गन्तव्यका रुपमा स्थापित भएको छ। हालै अमेरिका र इरानबीचको महत्वपूर्ण वार्ता यही होटलमा सम्पन्न भएपछि यसको कूटनीतिक महत्व अझ बढेको छ।
करिब १५ एकड क्षेत्रफलमा फैलिएको यो भव्य सम्पत्तिले मुरिश, इस्लामिक र मुगल स्थापत्य शैलीलाई आधुनिक सुविधासँग समायोजन गर्दै शहरको बीचमै विश्रामस्थलको अनुभूति दिन्छ। हरियालीले ढाकिएका बगैँचा, फोहरा र खुला आँगनले सजिएको परिसरभित्र ४०० भन्दा बढी कोठा तथा सुइटहरू रहेका छन्।
ती कोठाहरूमा स्थानीय कलात्मकता, न्यानो रंग संयोजन र अन्तर्राष्ट्रिय स्तरका सुविधा समेटिएका छन्। जसले विशेषगरी उच्च स्तरीय पाहुना तथा कूटनीतिक प्रतिनिधि मण्डललाई लक्षित गरेको देखिन्छ।
-1775978181.jpg)
खानपानको दृष्टिले पनि होटल उत्तिकै प्रभावशाली छ। जहाँ अन्तर्राष्ट्रिय परिकारदेखि प्रामाणिक पाकिस्तानी तथा एसियाली स्वादसम्मका विविध विकल्प उपलब्ध छन्। मार्गल्ला पहाडको दृश्यसँगै शान्त, गोपनीय र सुसज्जित वातावरणले यो होटललाई केवल बसोबासको स्थल मात्र नभई उच्च स्तरीय बैठक, कूटनीतिक वार्ता तथा विशिष्ट आतिथ्यको प्रतीकका रूपमा स्थापित गरेको छ।
यो होटल सन् २००२ मा निर्माण भएको हो। जसको औपचारिक उद्घाटन ११ मार्च २००२ मा गरिएको थियो। यो पाकिस्तानको एक प्रमुख पर्यटकीय तथा व्यापारिक लगानीका रूपमा चिनिन्छ। उक्त होटल अगा खान आर्थिक विकास कोषद्वारा लगानी गरिएको परियोजना हो। जसको प्रारम्भिक लगानी करिब २ करोड ९० लाख अमेरिकी डलर रहेको थियो।
-1775978180.jpg)
पछि सन् २००७ मा अन्तर्राष्ट्रिय वित्त निगमसँगको सहकार्यमा करिब ७ करोड ५० लाख अमेरिकी डलर थप लगानी गर्दै होटलको क्षमता विस्तार गरिएको थियो। जसअन्तर्गत सेरेना व्यवसायिक परिसर पनि थपिएको छ। होटलको वास्तुकला प्रसिद्ध पाकिस्तानी वास्तुकार नय्यर अली दादाले डिजाइन गरेका हुन्। जसमा परम्परागत इस्लामी तथा पाकिस्तानी कलाको आकर्षक मिश्रण देख्न सकिन्छ।
हाल यसको व्यवस्थापन तथा स्वामित्व पर्यटन प्रवर्द्धन सेवा पाकिस्तानले सम्हाल्दै आएको छ। जसले यस क्षेत्रकै प्रतिष्ठित आतिथ्य गन्तव्यका रूपमा विकास गरेको छ।
-1775978181.jpg)