काठमाडौं। काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त वित्तीय संस्था, मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्था र बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्थाबीच गाभिने सम्झौता भएको छ।
मर्जर सम्झौतामा मानुषी लघुवित्त सञ्चालिका वीणा श्रेष्ठ, जीवन विकासका अध्यक्ष विक्रमराज सुवेदी, युनिक नेपालका अध्यक्ष शिवबहादुर चौधरीले हस्ताक्षर गरे। यसलाई नेपालको लघुवित्त क्षेत्रमा भएको हालसम्मको ठूलो मर्जर सम्झौता मानिएको छ।
लघुवित्तको पुँजीगत आधार सुदृढ बनाउने उद्देश्यले तीन संस्थाबीच मर्जर सम्झौता भएको जीवन विकासका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले जानकारी बताए। मर्जरपछि संस्थाको एकीकृत नाम ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ रहनेछ भने केन्द्रीय कार्यालय मोरङको कटहरी गाउँपालिका–२ मा रहनेछ ।
युनिक नेपाल र मानुषी लघुवित्तको केन्द्रीय कार्यालयलाई प्रादेशिक कार्यालयको रुपमा रुपान्तरण गरिनेछ भने प्रमुख कार्यकारी अधिकृत जीवन विकासका मण्डल रहनेछन्। मर्जरपछि तीन वटै संस्थाका कर्मचारी समायोजन गर्ने सहमति भएको छ।
हाल जीवन विकासको चुक्ता पुँजी १ अर्ब ७५ करोड १२ लाख ३२ हजार, युनिक नेपालको १४ करोड ८५ लाख ७५ हजार र मानुषी लघुवित्तको १० करोड ९३ लाख ७५ हजार रुपैयाँ छ।
जीवन विकासले १६० शाखामार्फत कोसी, मधेस र बागमती प्रदेशका ३१ जिल्लाका ३ लाख १५ हजार बढी सदस्यलाई लघुवित्त सेवा दिँदै आएको छ। युनिक नेपालले १० जिल्लामा ८० हजार बढी र मानुषीले १४ जिल्लामा ३४ हजार ७ सय बढीलाई वित्तीय सेवा दिँदै आएको छ।
मर्जर प्रक्रियालाई अगाडि बढाउन ६ सदस्यीय संयुक्त मर्जर समिति गठन गरिएको संस्थाले जनाएको छ। मर्जर प्रक्रिया २०८३ असार मसान्तभित्रै सम्पन्न गरी एकीकृत कारोबार सुरु गर्ने लक्ष्य राखिएको छ।