काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूको लगानीको ठूलो हिस्सा अझै पनि घरजग्गा (रियलस्टेट) क्षेत्रमै ‘होल्ड’ भएको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको रियलस्टेटसम्बन्धी पछिल्लो प्रतिवेदनअनुसार विगत पाँच वर्षमा घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जाको ७२ प्रतिशत बढेको देखिएको हो।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्मको अवधिमा रियलस्टेट कर्जा ७२.४१ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी, व्यक्तिगत आवासीय घर कर्जा पनि सोही अवधिमा ६१.५५ प्रतिशतले बढेको छ। यसले अर्थतन्त्रका अन्य क्षेत्रमा सुस्तता आए पनि बैंकहरूको प्राथमिकता र सर्वसाधारणको आकर्षण अझै घरजग्गामै केन्द्रित रहेको देखाउँछ।
कारोबारको प्रवृत्ति विश्लेषण गर्दा भौगोलिक रूपमा निकै भिन्नता देखिएको छ। संख्या र क्षेत्रफलका आधारमा मधेस प्रदेशमा घरजग्गा किनबेचको ‘बाढी’ नै आएको देखिन्छ। मधेसमा विशेषगरी २० आनाभन्दा माथिका ठूला प्लट कारोबार बढी हुने गरेको छ।
जग्गाको कारोबार भएको क्षेत्रफलका आधारमा मधेसबाहेक सबै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लट सबैभन्दा बढी कारोबार हुने गरेको छ भने मधेसमा २० आनाभन्दा माथिका प्लटहरूमा बढी कारोबार देखिएको छ। घोषित मूल्य (थैली रकम) का आधारमा बागमती प्रदेश अग्रस्थानमा रहेको छ। महानगर तथा उप–महानगरमा ५ देखि १० आना क्षेत्रफलका प्लट सबैभन्दा बढी कारोबार भएको देखिएको छ।
यद्यपि, मूल्य र थैली रकमको हिसाबले भने बागमती प्रदेश अझै पनि सबैभन्दा अगाडि छ। काठमाडौं उपत्यकासहितको बागमती प्रदेशमा ५ देखि १० आनाका साना प्लट महँगो मूल्यमा किनबेच हुने गरेका कारण बैंकहरूको कर्जाको ठूलो आयतन पनि यसै क्षेत्रमा ‘कन्सन्ट्रेट’ भएको अनुमान गरिएको छ।
घरजग्गा क्षेत्रबाट प्राप्त हुने सरकारी राजस्वमा पनि पछिल्लो समय सुधारको संकेत देखिएको छ। आव २०७८/७९ मा २३.७ अर्बसम्म पुगेको राजस्व घटेर ८.२ अर्बमा झरेकामा पछिल्लो समय पुनः विस्तार हुँदै १५ अर्ब रुपैयाँको हाराहारी पुगेको छ।
राष्ट्र बैंकको प्रतिवेदनले घरजग्गा कारोबार सामान्यतया आर्थिक वर्षको पहिलो त्रैमासमा कारोबार न्यून हुने र तेस्रो तथा चौथो त्रैमास (फागुनदेखि असार) मा कारोबार र कर्जा प्रवाह उच्च हुने गरेको देखिन्छ।
बैंकहरूको अर्बौं लगानी यो क्षेत्रमा थुप्रिएपछि राष्ट्र बैंकले यसको जोखिमलाई नजिकबाट नियाल्न थालेको छ। सोही कारण बैंकले पहिलो पटक घरजग्गा कारोबारको वैज्ञानिक मापनका लागि ‘घरजग्गा मूल्य सूचकांक’ निर्माणको दोस्रो चरणको काम सुरु गरेको छ।
यस सूचकांकले बजारमा जग्गाको मूल्य अस्वाभाविक रूपमा बढेको छ कि छैन र बैंकको लगानी कति सुरक्षित छ भन्ने कुराको यकिन जानकारी दिने विश्वास गरिएको छ।