काठमाडौं। बुद्ध एयरले नयाँ वर्ष २०८३ वैशाख १ देखि आफ्नो ‘रोयल क्लब फ्रिक्वेन्ट प्लायर’ कार्यक्रमलाई पूर्ण रुपमा डिजिटल तथा अनलाईन प्रणालीमा रुपान्तरण गरेको छ।
नियमित हवाई उडान गर्ने यात्रुका लागि दशकौंदेखि सञ्चालन हुँदै आएको कार्यक्रममार्फत लाखौं सदस्य लाभान्वित हुँदै आएका छन्। यात्रु सदस्यले यस कार्यक्रममार्फत उडानसँगै ‘माइलेज प्वाइन्ट’ जम्मा गर्न पाउनेछन्।
निश्चित माईलेज प्वाइन्ट संकलन भएपछि यात्रु तथा तिनका परिवारका सदस्यले डिस्काउन्ट एवं निःशुल्क हवाई टिकट प्राप्त गर्न सक्नेछन्। सस्तो टिकटमा पनि माइलेज प्वाइन्ट बुध्द एयरले यसअघि रिफन्डेबल टिकट अर्थात् वाई, ए र बी क्लासमा मात्र यात्रुलाई माइलेज प्वाइन्ट प्रदान गर्दै आएकामा अबदेखि नन–रिफन्डेबल टिकटमा पनि माइलेज प्वाइन्ट दिइने कम्पनीका सेल्स एन्ड मार्केटिङ डाइरेक्टर रुपेश जोशीले जानकारी दिए।
अनलाइनबाटै माइलेज टिकट अब यात्रुले संकलित माइलेज प्वाइन्ट प्रयोग गरी बुध्द एयरको मोबाइल एप वा वेवसाईटबाटै सजिलै टिकट काट्न सक्नेछन्। यसअघि यो सुविधा केवल सेल्स काउन्टर वा एयरपोर्ट काउन्टरमार्फत मात्र उपलब्ध थियो।
उदाहरणका लागि काठमाडौंबाट पोखरा उडानमा नन रिफन्डेबल टिकटबाट यात्रुले ११२ माइलेज प्वाइन्ट प्राप्त गर्छन् भने सोही बराबरको अर्को पोखरा–काठमाडौं उडान टिकटमा ११२ सम्मको सहजै डिस्काउन्ट प्राप्त गर्न सक्नेछन्। यात्रुले जुनसुकै प्लेटफर्म वा ट्राभल एजेन्सीबाट टिकट काट्दा आफनो रोयल क्लब नम्बर उल्लेख गर्न बुध्द एयरले अनुरोध गरेको छ।
यसले यात्रापछि प्राप्त हुने माइलेज प्वाइन्ट तथा डिस्काउन्ट सुविधा लिन सजिलो हुने बुध्द एयरले बताएको छ। अन्य थुप्रै छुट रोयल क्लबका सदस्यले सुपर मार्केट, ग्रोसरी पसल, होटल, रिसोर्ट, गिफ्ट सपबाट पनि माइलेज प्वाइन्ट प्रयोग गरी डिस्काउन्ट प्राप्त गर्न सकिनेछ।