काठमाडौं (कास)– कांग्रेस÷एमाले नेताहरुले देशको ढुकुटी रित्ताएर अर्बौं भ्रष्टाचार गरेको दाबीसहित भदौ २३ र २४ मा जेनजी आन्दोलन भयो। जेनजी आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हुत्याइदियो।
फागुन २१ मा चुनाव गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो र जेनजीले चाहेको सरकार पनि चैत २३ मा गठन भइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्वको १६ सदस्यीय मन्त्रिपरिषद् बनिसकेको छ। कानुनी व्यवस्थाअनुसार बालेन मन्त्रिपरिषद् सदस्यको आइतबार सम्पत्ति विवरण सार्वजनिक भएको छ।
सम्पत्ति विवरण हेर्दा प्रधानमन्त्री बालेनबाहेक अधिकांश मन्त्रीहरु अर्ब, करोडपति रहेको देखिएपछि सामाजिक सञ्जालमा आयस्रोतको प्रश्न उठेका छन्।
गृहमन्त्री सुधन गुरुङले आइतबार साँझ सार्वजनिक गरेको सम्पत्ति विवरणमाथि प्रश्न उठेपछि सोमबार बिहान फेसबुकमा एउटा स्ट्याटस लेखेका छन्। उनको स्ट्याटसमाथि आपत्ति जनाउँदै जेनजी रक्षा बमले फेसबुकबाटै त्यसको जवाफ फर्काएकी छन्।
गृहमन्त्री गुरुङले लेखेका छन्, ’तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो। सरकारमा आउनुअगाडि बिनाभ्रष्टाचार कमाउनु पाप होइन। सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो। चेतना भया!’
यसको जबाफमा जेनजी अभियन्ता रक्षा बमले आर्थिक हैसियतका हिसाबले कसैले बाँचिरहेको जीवन नै गलत भन्न नमिल्ने बताएकी छन्।
‘फिल्मी लाइनहरू फिल्मका लागि लेखिएका हुन्छन्, यथार्थमा जीवन भनेकै संघर्ष हो,’ उनी लेख्छिन्, ’आर्थिक हैसियतका हिसाबले कसैले बाँचिरहेको जीवन नै गलत हो भन्न मिल्दैन।’ उनी अगाडि लेख्छिन्, ‘आज हाम्रो देशका २० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि छन् र तपाईंको जस्तो आर्थिक हैसियत बनाउने अवसर राज्यले धेरै कम मानिसलाई दिएको हुन्छ। गरिब देशका धेरै जनताका लागि उच्च आर्थिक हैसियत बनाउने कुरा सपनाजस्तै हुन्छ। जनताको आर्थिक हैसियत आजै समृद्ध बनाउन न यो राज्यका स्रोतको सीमितताका कारण सम्भव छ, न तपाईंहरूसँग यसको यथार्थपरक योजना नै छ।’
‘जनतालाई नै गलत ठान्ने प्रवृत्तिप्रति दिक्क भएर नै तपाईंहरूले यो अवसर पाउनुभएको हो। आज गरिब भएर मर्नु गल्ती हो भन्ने हो भने भोलि गरिब हुनु नै अपराध हो भन्न तपाईंलाई कति बेर लाग्ला र? आफ्नो आर्थिक हैसियत उच्च बनाउन नसक्नेहरूलाई ’गलत’ को संज्ञा दिनु तपाईंको पदीय मर्यादाविपरीत हो। बेलैमा सच्चिनुस्,’ रक्षाले लेखेकी छन्।
गृहमन्त्री गुरुङले आफ्नो सम्पत्ति विवरणमा धनकुटामा १९ रोपनी १५ आना लगानीबाट प्राप्त जग्गा भनेर खुलाएका छन्। बुबा दिलबहादुर गुरूङको नाममा चितवनमा ३० कट्ठा, बाजे रामसल गुरुङ र परिवारको नाममा २२१ रोपनी पैतृक जग्गा भएको खुलाएका छन्। उनले ८९ तोला सुन र ६ किलो चाँदी पैतृक सम्पत्तिका रूपमा देखाएका छन्।
गुरुङको लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार ४००, नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ रुपैयाँ र सानीमा बैंकमा एक हजार ५७४ रुपैयाँ छ। होप होल्डिङ्स प्रालिमा ३० लाख रुपैयाँ बराबरको ३० हजार कित्ता सेयर देखाएका छन्। लगुम प्रमियम अपार्टमेन्ट्समा ५७ लाख बराबरको ५७ हजार कित्ता सेयर देखाएका छन्। धितोपत्र बजारमा २ करोड ७४ लाख ५६ हजार २०० बराबरको सेयर देखिएको छ। एड्भेन्चर भिल्ला प्रालिमा ७० लाखको ७० हजार कित्ता सेयर देखाएका छन्। उनले आफ्नो सेयर व्यवसाय, पैतृक सम्पत्ति र लगानीमार्फत आर्जन गरेको खुलाएका हुन्।
उनले लगुम प्रिमियमको नाममा रहेको ०३२ च ४४७७ एमजी एस ५ कार पनि देखाएका छन्। उक्त कार गत असोज १६ गते ४७ लाख ९९ हजार रुपैयाँमा किनेको भनेका छन्।