धादिङ। आर्थिक मन्दी र लगानीको सुस्तताबीच धादिङको नीलकण्ठ नगरपालिका–८, कमेरे गाउँमा एक महत्त्वाकांक्षी उद्योग निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको छ। १ अर्ब ५० करोड रुपैयाँको लगानीमा स्थापना हुन लागेको यस उद्योगले स्थानीय किसान र युवामा नयाँ उत्साहको सञ्चार गरेको छ।
धादिङबेंसी नजिकै रहेको कमेरे क्षेत्रमा हाल भारी मेसिन जडान भइरहेका छन् र निर्माण कार्यले पूरा जोड पाएको छ। जर्मन प्रविधिमा आधारित पूर्ण स्वचालित यस उद्योगले दैनिक दस टन आलु प्रशोधन गरी आलुजन्य खाद्यपदार्थ उत्पादन गर्ने लक्ष्य राखेको छ।
किसानले पाए नयाँ बाटो
उद्योगको वरिपरि कमेरे, कोइराले, तल्लोबेंसी, ससाह, बिर्ताबेंसी र जलविरे गरी ६ वटा ठूला कृषि फाँट छन्। यी फाँटमा अहिलेसम्म परम्परागत रूपमा धान र मकै मात्र खेती हुँदै आएको थियो। आलुको सम्भावना प्रशस्त भए पनि बजार अभावले किसान घरायसी उपभोगमा मात्र सीमित थिए।
अब उद्योगले आलु खरिद गर्ने प्रतिबद्धता जनाएपछि किसानमा नगदेबाली खेतीतर्फ उत्साह बढेको छ। नीलकण्ठ नगरपालिका वडा नम्बर ८ को सिफारिसमा स्थानीय कृषकहरूलाई आलु भण्डारणमा २५ प्रतिशत छुट पनि दिइने घोषणा भइसकेको छ।
वडा नम्बर ८ का स्थानीय किसान सीताराम कोइरालाले भने, ‘अब नगदेबालीका रूपमा आलुखेती हुने भयो। खेतबाटै उद्योगमा सिधा बिक्री हुने भएपछि किसान उत्साहित छन्।’
उत्तरी धादिङका हिमाली भेगका किसानलाई पनि यस उद्योगले राहत दिने देखिएको छ। अहिलेसम्म बजार नपाएर आलु कुहिने अवस्था रहेकामा अब नजिकै बजार पाउने निश्चित भएको छ।
दुई सय जनालाई प्रत्यक्ष रोजगारी
उद्योगका सञ्चालक रमेशभाइ अधिकारीका अनुसार उद्योग पूर्ण सञ्चालनमा आएपछि करिब दुई सय जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् भने करिब २० हजार किसान अप्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइने भएकाले क्षेत्रका युवालाई वैदेशिक रोजगारीको विकल्प यहीँ उपलब्ध हुने उनले बताए। उद्योगले सीप विकास र प्रविधि हस्तान्तरणमार्फत स्थानीय स्तरमा एक सम्पूर्ण आर्थिक इकोसिस्टम बनाउने योजना राखेको छ।
सरकारको साथ र लगानीकर्ताको भरोसा
हालसालै सभामुखमा निर्वाचित डोलप्रसाद अर्यालले गृहजिल्ला धादिङ भ्रमणका क्रममा निर्माणाधीन उद्योगको अवलोकन गरी निजी क्षेत्रको लगानी सुरक्षित गर्न राज्य गम्भीर रहने प्रतिबद्धता व्यक्त गरे। उनको यस भनाइले लगानीकर्ताको मनोबल उच्च बनाएको व्यवसायीहरू बताउँछन्।
कृषि र उद्योगबीचको दूरी नेपालमा सधैँ एक ठूलो चुनौती रहँदै आएको छ। धादिङमा निर्माण भइरहेको यस उद्योगले कृषि उत्पादन बढाउने र बजारीकरण सहज बनाउने नीतिका कारण त्यो खाडल पुर्ने संकेत गरेको विज्ञहरू बताउँछन्।