काठमाडौं। नेपालका बैंक तथा वित्तीय संस्थाका कार्यालयमा पस्नासाथ जोकोहीलाई लाग्न सक्छ– बैंक महिला कर्मचारीले धानेका छन्। बैंक काउन्टर होस् या प्रमुख कार्यकारी अधिकृत (सीईओ), सञ्चालक अध्यक्ष वा उच्च ओहोदाका अधिकारीको सचिवालमा बसेका ९० प्रतिशत कर्मचारी महिला नै हुन्छन्।
यसकारण बैंकिङ क्षेत्र महिला कर्मचारीले धानेका हुन् कि भनेर गैरबैंकिङ क्षेत्रकाले सोच्नु स्वाभाविकै हो। तर, बैंकिङ क्षेत्रमा महिला कर्मचारी धेरै कम छन्। नेपाल बैंकर्स संघको पछिल्लो तथ्यांक हेर्ने हो भने सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा पुरुष कर्मचारीको बहुमत छ। हाल वाणिज्य बैंकमा ४३ हजार १७३ कर्मचारी कार्यरत छन्। यीमध्ये ४३.५४ प्रतिशत महिला र ५६.४६ प्रतिशत पुरुष कार्यरत छन्।
यद्यपि, पछिल्लो समय बैंकहरूमा महिला कर्मचारी सहभागिता उत्साहजनक रूपमा बढ्दै गएको छ। अघिल्लो वर्ष वाणिज्य बैंकहरूमा कुल ४० हजार ६०३ कर्मचारी कार्यरत थिए। यीमध्ये ४०.८९ प्रतिशत महिला र ५९.११ प्रतिशत पुरुष कार्यरत थिए।
नेपाली बैंकिङ क्षेत्रमा महिलाको प्रवेश बढ्नु सकारात्मक देखिए पनि उनीहरूलाई उच्च नेतृत्व तहसम्म टिकाइ राख्नु र कार्यस्थललाई थप महिलामैत्री बनाउनु अझै पनि चुनौतीको विषय बनेको छ।
सञ्चालनमा रहेका वाणिज्य बैंकहरूमा कुल ४३,१७३ जना स्थायी कर्मचारीमध्ये १८,४४४ जना महिला र २४,७२९ जना पुरुष रहेका छन। नेपालको संविधानले सरकारी तथा निजी क्षेत्रका संघ संस्थाहरूमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने सुनिश्चितता गरेको छ। सोही संवैधानिक व्यवस्थाबमोजिम अधिकांश बैंकहरूले महिला कर्मचारीको संख्यामा उल्लेख्य सुधार गरेका छन्।
कुन बैंकमा कति महिला?

प्रतिशतका आधारमा ग्लोबल आइएमई बैंक महिला कर्मचारीको संख्यामा सबैभन्दा अगाडि देखिएको छ। यस बैंकमा कुल ३,६८५ स्थायी कर्मचारीमध्ये ६०.२४ प्रतिशत अर्थात् २,२२० जना महिला कार्यरत छन्।
त्यस्तै, प्रभु बैंकमा ४७.१२ प्रतिशत (१,४६७ जना), नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा ४६.७३ प्रतिशत (१,३८१ जना) र एनआईसी एसिया बैंकमा ४६.२० प्रतिशत (१,४९१ जना) महिला कर्मचारी रहेका छन्।
अन्य बैंकहरूजस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकमा ४५.१७ प्रतिशत, सिटिजन्स बैंकमा ४२.६४ प्रतिशत र हिमालयन बैंकमा ४१.६१ प्रतिशत महिला कर्मचारीले रोजगारी पाएका छन्।
कतिपय बैंकहरूमा भने महिला सहभागिता अझै पनि ३३ प्रतिशतको सीमा आसपास नै सीमित रहेको छ। तथ्यांकअनुसार नेपाल एसबिआई बैंकमा ३३ प्रतिशत र एभरेष्ट बैंकमा ३३.१४ प्रतिशत मात्र महिला कर्मचारी रहेका छन्। यस्तै, कृषि विकास बैंकमा ३४.२० प्रतिशत महिला सहभागिता रहेको देखिन्छ।
नेतृत्व र व्यवस्थापनमा उपस्थिति बैंकमा तल्लो र मध्यम तहमा महिलाको संख्या बाक्लो देखिए पनि उच्च व्यवस्थापन र नेतृत्वदायी भूमिकामा भने अझै पनि महिला उपस्थिति न्यून छ। धेरैजसो बैंकका उच्च व्यवस्थापन कमिटी, विभागीय प्रमुख र प्रदेश प्रमुख जस्ता महत्त्वपूर्ण पदमा अझै पनि पुरुष कर्मचारीकै बाहुल्य रहेको स्रोतको दाबी छ।
बीचमै जागिर छाड्ने प्रवृत्ति तथ्यांकअनुसार महिला बैंकिङ क्षेत्रमा प्रवेश गरे पनि करियरको बीचमै जागिर छाड्ने दर उच्च रहेको बैंकहरू बताउँछन्। विशेषगरी विवाह, सन्तान लाभ र पारिवारिक जिम्मेवारी थपिँदै जाँदा महिलाले जागिरलाई निरन्तरता दिन कठिन महसुस गर्ने गरेको पाइएको छ।
यसका साथै बैंकहरूको अनिवार्य सरुवा नीति र लामो समय कार्यालयमा बस्नुपर्ने बाध्यताका कारण पनि कतिपय महिला कर्मचारीले समयअगावै अवकाश रोज्ने गरेका छन्।
नेपाली बैंकिङ क्षेत्रमा महिलाको प्रवेश बढ्नु सकारात्मक देखिए पनि उनीहरूलाई उच्च नेतृत्व तहसम्म टिकाइ राख्नु र कार्यस्थललाई थप महिलामैत्री बनाउनु अझै पनि चुनौतीको विषय बनेको छ।