काठमाडौं। नयाँ वर्ष २०८३ सालको उपलक्ष्यमा काठमाडौंको कमलादीस्थित स्काइवाक नेपालले आकर्षक छुटको अफर ल्याएको छ। स्काइवाक नेपालले सीमित समयका लागि ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराउने भएको हो। पहिले स्काइवाक चढ्नको लागि एक हजार रुपैयाँ लाग्थ्यो भने अब ५०० रुपैयाँमा नै चढ्न पाइनेछ। यो अफर वैशाख १ देखि १५ गतेसम्म मात्र लागू हुनेछ।
‘नयाँ वर्षलाई विशेष बनाउन यो अफर ल्याइएको हो। सामान्य टिकट मूल्यमा आधा छुट पाएपछि धेरै परिवार, साथिभाइ र पर्यटकलाई यो ठाउँ घुम्न सजिलो हुनेछ। साथै नयाँ वर्षमा क्वालिटी टाइम पनि बिताउन सकिन्छ,’ स्काइवाक टावरका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले बताए।
स्काइवाक नेपाल हरेक दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला रहन्छ। टिकट टावरमै किन्न सकिन्छ। १३ रोपनीमा निर्माण भएको ७८.५ मिटर अग्लो स्काइवाक टावर बाहिरी जिल्ला तथा विदेशबाट काठमाडौं आउनेका लागि प्रमुख गन्तव्य बनेको छ। स्काइवाक साहसिक गतिविधिका लागि मात्रै होइन, काठमाडौंका एेतिहासिक स्थलको जानकारी लिनका लागि पनि उपयुक्त गन्तव्य हो।
यहाँबाट एेतिहासिक घण्टाघर, त्रिचन्द्र क्याम्पस, रानीपोखरी, दरबार हाइस्कुल, टुँडिखेल, धरहरा, शहीदगेट, सिंहदरबारलगायतका स्थानको अवलोकन गर्न सकिन्छ। टावरको २५औँ तलामा स्काइवाक (सिसा ओछ्याइएको भुइँ)मा हिँड्न पाइन्छ। त्यहाँ हिँड्दा आकाशमा हिँडेजस्तो अनुभव हुन्छ। साहसिक गतिविधि मन पराउनेका लागि स्काइवाक काठमाडौंको प्रमुख गन्तव्य बनेको प्रबन्ध निर्देशक पाण्डेले बताए।
स्काइवाकमा प्रति वर्गमिटर पाँच सय किलो भारवहन क्षमताको गुणस्तरीय सिसाको प्रयोग गरिएको छ। स्काइवाक निर्माण गर्दा जमिनबाट ३५ मिटर तलसम्म ५८ वटा फलामका डण्डीहरु राखिएको छ। टावरको माथि पुग्नका लागि दुई वटा लिफ्ट बनाइएको छ भने एकैपटक ४५ जनासम्म माथि जान सकिन्छ। साथै स्काइवाकको माथिल्लो भागमा एकैपटक ५०० जनासम्म अट्नसक्ने कम्पनीको भनाइ छ।
पछिल्लो समय जमघटको थलो बनेको यो ठाउँमा स्काइवाकबाहेक पनि विभिन्न सुविधा छन्। टावर परिसरमा साना कार्यक्रम गर्न एमपी थिएटरको पनि सुविधा छ। कम्पनीका अनुसार स्काइवाक सूर्योदय र सूर्यास्तको दृश्यावलोकन तथा योग गर्नेका लागि पनि उपयुक्त थलो हो।
‘यो धरहराभन्दा १६ मिटर अग्लो छ, यहाँबाट काठमाडौंको ३६० डिग्रीको दृश्यावलोकन गर्न सकिन्छ, त्यसबाहेक एकै ठाउँबाट काठमाडौं सहर हेर्दै जानकारी लिनका लागि पनि उपयुक्त गन्तव्य हो’, प्रबन्ध निर्देशक पाण्डेले भने।