काठमाडौं। नेपालको रियलइस्टेट व्यवसायमा अग्रणी लिजेन्ड प्रोपर्टी र जापानस्थित एचएसबी समूहबीच नेपालको घरजग्गा बिक्री, प्रवर्द्धन तथा लगानीका लागि सम्झौता भएको छ।
लिजेन्ड प्रोपर्टीका प्रबन्ध निर्देशक रविन चाम्लिङ राई र एचएसबी जापानका अध्यक्ष विनोद शेरचनबीच भएको सम्झौताअनुसार, नेपालमा लिजेन्ड प्रोपर्टीले विकास गरेका घरजग्गा परियोजनाको जापानमा रहेका नेपालीमाझ प्रवर्द्धन तथा बिक्री एचएसबी जापानले गर्नेछ। साथै, दुवै कम्पनीले संयुक्त रूपमा अन्य परियोजनामा समेत लगानी गर्ने सहमति गरेका छन्।

लिजेन्ड प्रोपर्टीका प्रबन्ध निर्देशक राईले पछिल्लो समय विदेशमा रहेका नेपालीले नेपालमा घरजग्गामा लगानी बढाउँदै गएको उल्लेख गर्दै त्यसको सहजीकरणका लागि जापानमा एचएसबी समूहसँग सहकार्य गरिएको बताए। ‘जापानमा नेपालीको ठूलो उपस्थिति छ। त्यहाँ नै घरजग्गासम्बन्धी जानकारी उपलब्ध गराउने र लगानी प्रक्रियालाई सहज बनाउने हिसाबले यो सहकार्य महत्वपूर्ण हुनेछ,’ उनले भने।
त्यस्तै, एचएसबी जापानका अध्यक्ष विनोद शेरचनले रियल इस्टेट व्यवसाय नेपालको अर्थतन्त्रका लागि झन् महत्त्वपूर्ण बन्दै गएको उल्लेख गर्दै जापानमा रहेका नेपालीहरूलाई नेपालको घरजग्गाबारे विश्वसनीय जानकारी प्रदान गर्न र सुरक्षित लगानी वातावरण सिर्जना गर्न लिजेन्डसँगको सहकार्य फलदायी हुने बताए।
एचएसबी जापान १७ वर्षभन्दा बढी समयदेखि अन्तर्राष्ट्रिय समुदायका लागि विश्वासिलो साझेदारका रूपमा स्थापित छ। कम्पनीले कानुनी परामर्श, प्रशासनिक सेवा तथा बहुभाषिक अनुवाददेखि शिक्षा, घरजग्गा, खाद्य व्यवसाय तथा स्वास्थ्य–जीवनशैलीसम्म आफ्नो लगानी विस्तार गरेको छ।
सन् २०१७ मा टोचिगीमा स्थापना गरिएको एचएसबी जापानी भाषा विद्यालयमार्फत कम्पनीले शिक्षा क्षेत्रमा प्रवेश गर्दै विद्यार्थीलाई जापानी भाषा सिकाइ, जापानी भाषा प्रवीणता परीक्षा तयारी तथा विश्वविद्यालय तथा प्राविधिक अध्ययनका लागि मार्गदर्शन प्रदान गर्दै आएको छ।
त्यस्तै, सन् २०१८ देखि घरजग्गा क्षेत्रमा सक्रिय एचएसबीले टोकियोका शिनबाशी, रोप्पोंगी, असाकुसा, आकासाका र योगा जस्ता प्रमुख क्षेत्रमा करिब २३० भन्दा बढी कोठा तथा अपार्टमेन्ट व्यवस्थापन गर्दै विश्वभरका सयौँ ग्राहकलाई घर खरिद तथा भाडा प्रक्रियामा सहयोग पुर्याउँदै आएको छ।
यससँगै कम्पनीले सन् २००९ देखि खाद्य क्षेत्रमा लगानी विस्तार गर्दै सन् २०१८ मा टोकियोको शिनओकुबोमा ‘याताइमुरा’ नामक करिब २०० जनासम्म क्षमता भएको एसियाली भोजन केन्द्र सञ्चालनमा ल्याएको छ, जहाँ नेपालसहित ९ एसियाली देशका परिकार उपलब्ध छन्।
स्वास्थ्य तथा जीवनशैली क्षेत्रमा ‘किरा लाबो’ ब्रान्डमार्फत गुणस्तरीय उत्पादन उपलब्ध गराउँदै आएको कम्पनीले महामारीपछिको सन्दर्भमा स्वास्थ्यलाई प्राथमिकता दिने उद्देश्य अघि सारेको छ।