मुस्ताङ। स्याउको राजधानीका रुपमा परिचित मुस्ताङमा स्याउ बगैँचा सेताम्मे हुन थालेका छन्। गर्मी बढेसँगै स्याउका बोटहरुमा फूल फुलेर सेताम्मे हुन थालेका कृषि तथा पशु विकास कार्यालयका प्राविधिक सहायक शेरबहादुर रावतले बताए।
स्याउलाई चिलिङ (चिस्यान)को आवश्यकता पर्ने प्राविधिक सहायक रावतको भनाइ छ। स्याउलाई शीतोष्ण प्रदेशीय फलफूलको राजा भन्ने गरिन्छ। स्याउको फूल र फल लाग्न ४५ दिनको समय सात डिग्री सेल्सियसभन्दा कम तापक्रमको आवश्यकता पर्ने उनले बताए। त्यसपछि स्याउको फूल फुल्ने र फल लाग्ने समयमा तापक्रम न्यूनतम १० डिग्रीदेखि २० डिग्री सेल्सियससम्म आवश्यकता पर्ने प्राविधिक सहायक राउतले उल्लेख गरे।
मुख्यगरी असोज र कात्तिक महिनामा स्याउको ‘पोस्ट हार्भेस्ट’ गरिएपछि बोटको काँटछाँट गरेपछि बर्सेनि चैत र वैशाख महिनामा स्याउको फूल फुल्ने उनले बताए।
स्याउको गुणस्तर तथा उत्पादन वृद्धिका लागि स्याउ बोटमा फूल फुल्ने बेला पोलिनेशन (परागसेचन) आवश्यक पर्छ। स्याउका कतिपय प्रजातिहरु स्वतः प्राकृतिक रुपमा परागसेचन हुने र कतिपय स्याउका प्रजातिलाई पर–परागसेचनको आवश्यकता पर्ने प्राविधिक सहायक राउतले जानकारी दिए।
परागसेचनका लागि हावा र मौरीको भूमिका विशेष हुने गर्छ। एक हेक्टर स्याउको क्षेत्रफलमा करिब ६ देखि ८ वटासम्म मौरी घारको व्यवस्थापन गर्न सकिएमा स्याउको परागसेचन भई उत्पादन र गुणस्तर बढ्ने बताइन्छ।
चालु वर्षमा ६–७ पटकसम्म वर्षा र हिमपात भएको भए पनि स्याउ बोटमा फूल फुल्ने बेलामा प्रतिकूल मौसम, वर्षा र हिमपातले असर पुर्याउने गर्छ। स्याउको फूल फुल्ने समयलाई शीतोष्ण फूलका लागि निकै संवेदनशील समयको रुपमा लिने गरिएको छ।
जिल्लाको लोमान्थाङदेखि तल्लो मुस्ताङको थासाङ गाउँपालिका क्षेत्रका स्याउ बगैँचाका बोटहरुमा फूल फुलेर सेताम्मे भइसकेको छ। घरपझोङ–४ जोमसोमका किसान भूपेन्द्र शेरचनले स्याउको फूल फुल्ने बेलामा मौसमले पूर्ण रुपमा साथ दिनुपर्ने बताए। स्याउ बोटमा परागसेचन हुने समयमा वर्षा हुने र मौसम ढुम्म भएमा स्याउ बोटमा ढुसी पलाएर स्याउको गुणस्तरमा असर पुर्याउने उनको भनाइ छ। स्याउ बोटमा अझै पूर्ण रुपमा फूल फुल्न एक साता समय लाग्ने उनले बताए।
जिल्लाका पाँच स्थानीय तहमा गरी स्याउको कूल ८९९.१६ हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको छ। यहाँ स्थानीय परम्परागत स्याउ ८३७.१६ हेक्टरमा र इटालीबाट आयात गरिएको उच्च घनत्व प्रविधिको ‘हाइब्रिड’ स्याउ ६२ हेक्टर क्षेत्रफलमा गरिएको कृषि तथा पशु सेवा शाखाको तथ्यांकमा उल्लेख छ। यसमध्ये स्याउको उत्पादनशील क्षेत्र स्थानीय जातका स्याउ ५७२ हेक्टर र ‘हाइब्रिड’ स्याउ ५५ हेक्टर छ।