काठमाडौं। सरकारले ट्रायल पास गरेर राजस्व तिरेपछि २४ घण्टाभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने व्यवस्था आजदेखि लागू गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्र निरीक्षणका क्रममा सो जानकारी दिएका हुन्। मन्त्री तिमिल्सिनाले लाइसेन्स छपाइलाई तीव्र बनाउन निर्देशनसमेत दिए।
उनले लामो समयसम्म लाइसेन्स नपाउने समस्या अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै बाँकी सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको बताए। ‘अब सम्भव काम रोकिने छैन, सेवाग्राहीले छिटो सेवा पाउनेछन्। लामो समयदेखि लाइसेन्स नपाउने समस्या अब अन्त्य भएको छ,’ उनले भने।
निरीक्षणका क्रममा उनले सुरक्षण मुद्रण केन्द्रलाई प्रभावकारी र सक्षम संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। विगतमा आवश्यक इच्छाशक्ति र व्यवस्थापन अभावका कारण काम ढिला भएको उल्लेख गर्दै उनले अब ती समस्या समाधान गर्दै अघि बढ्ने बताए।
अर्बौं रकम खर्च गरेर खरिद गरिएका उपकरण लामो समयदेखि थन्किएकोमा तिनलाई सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिएको पनि मन्त्री तिमिल्सिनाले जानकारी दएि। केन्द्रमा करिब एक अर्ब रुपैयाँबराबरका उपकरण प्रयोगविहीन हुनु दुःखद रहेको भन्दै उनले त्यसको प्रभावकारी उपयोग गरिने बताए।
तिमिल्सिनाले केन्द्रलाई नागरिकको डाटा सुरक्षालाई प्राथमिकतामा राख्न र सेवाग्राहीमैत्री सेवा दिन निर्देशन दिए। उनले देशभर इन्टरनेट र मोबाइल सेवाको पहुँच र गुणस्तर सुधार पनि प्राथमिकतामा रहेको उल्लेख गर्दै आगामी एक वर्षभित्र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याउने लक्ष्य राखिएको बताए।
हाल केन्द्रले दैनिक करिब ४० हजार लाइसेन्स छापिरहेको छ। विदेश जाने नागरिकका लागि आवश्यक लाइसेन्सलाई प्राथमिकता दिइएको र वैशाख १२ गतेभित्र १२ लाख छापिसक्ने र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छापिसक्ने केन्द्रको लक्ष्य छ।