काठमाडौं। सुर्खेतस्थित प्रदेश अस्पतालमा सञ्चालित ‘नबिल निःशुल्क जलन उपचार शिविर’मार्फत १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन्। प्रादेशिक अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा गत चैत २७ देखि तीन दिनसम्म शिविर आयोजना गरिएको हो।
शिविरमा आएका ३९ जना बिरामीको वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको बैंकले जनाएको छ। जटिल किसिमका एक जना बिरामीलाई काठमाडौंको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा रिफर गरिएको छ। शिविरमा लामो समयदेखि उचित उपचार तथा शल्यक्रियाको पर्खाइमा रहेका र आर्थिक अवस्था कमजोर भएका बिरामीले निःशुल्क उपचार पाएका थिए।
सिन्जा गाउँपालिका–५ की सम्झना रोकायाको शिविरमा आउँदा जलनका कारण उनको हात नचल्ने अवस्थामा थियो। शल्यक्रियापछि अब हात सिधा भएको र घर खेतको काम आफै गर्नसक्ने विश्वास पलाएको रोकायाले बताइन्।
नेपालमा जलनसम्बन्धी घटनाका पीडितले अझै पनि उचित उपचार नपाएर बस्नुपर्ने अवस्था रहेकामा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली प्रदेशका दुर्गम क्षेत्रमा रहेका जलनपीडितलाई लक्षित गरी शिविर आयोजना गरेको हो,’ बैंकका सीईओ मनोजकुमार ज्ञवालीले भने। आगामी दिनमा लुम्बिनी र मधेस प्रदेशमा पनि यस प्रकारका शिविर आयोजना गरिने उनको भनाइ छ।
फेक्ट नेपालको कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईसहितको विशेषज्ञ चिकित्सक टोलीले कर्णाली प्रदेशका जलनका बिरामी लक्षित शिविरमा शल्यक्रिया गरेको थियो।
जलन उपचार शिविर सञ्चालन गर्नुअघि कर्णाली प्रदेशका विभिन्न जिल्लाका १६ स्थानमा स्क्रिनिङ क्याम्प राखिएको बैंकले बताएको छ। प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. गणेश थापाले कर्णाली प्रदेशमा धेरै मानिस अझै पनि उचित उपचार नपाएर बसिरहेको अवस्थामा शिविर सञ्चालन गरेकामा आयोजकलाई धन्यवाद दिए।
बैंकले यसअघि सुदुरपश्चिममा निःशुल्क जलन शिविर सञ्चालन गरेको थियो। गत फागुन १२ देखि १४ गतेसम्म धनगढीमा सञ्चालन भएको उक्त पहिलो शिविरमार्फत ६५ जना जलनका बिरामीले निःशुल्क उपचार पाएका थिए।