काठमाडौं। लोकप्रिय चाउचाउ ब्रान्ड ‘रमपम’ र ‘प्रिती’ को उत्पादक कम्पनी एशियन थाई फुड्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ६ महिनामै ३ अर्ब बढीको उत्साहजनक व्यापार गरेको छ। इक्रा नेपालको पछिल्लो प्रतिवेदनअनुसार कम्पनीले चालु आव २०२६ को ६ महिनामा ३ अर्ब १८ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो।
व्यापारको यो आकार गत आर्थिक वर्ष २०२५ को सोही अवधिको तुलनामा निकै बढी हो। गत वर्ष कम्पनीको कुल वार्षिक व्यापार ५ अर्ब ५३ करोड ८० लाख रुपैयाँ थियो, जसको औसत ६ महिनाको व्यापार करिब २ अर्ब ७६ करोड रुपैयाँ हुन आउँछ। यस आधारमा हेर्दा कम्पनीको व्यापारमा करिब १५ प्रतिशतको वृद्धि देखिएको छ।
साथै, कम्पनीले आव २०२४ मा ४ अर्ब ८६ करोड ८० लाख, आव २०२३ मा ४ अर्ब ७३ करोड ६० लाख र आव २०२२ मा ४ अर्ब २ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो। रिपोर्टका अनुसार कम्पनीले व्यवसाय विस्तारका लागि पछिल्लो समयमा ऋण बढाएको छ।
हाल कम्पनीको कुल ऋण सीमा १ अर्ब ९८ करोड ६० लाख रुपैयाँ पुगेको छ। यसमध्ये ४४ करोड १० लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ५४ करोड ५० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ। इक्रा नेपालले कम्पनीको दीर्घकालीन कर्जाका लागि ‘एल ट्रिपल बी प्लस’ र अल्पकालीन कर्जाका लागि ‘ए टु’ रेटिङ प्रदान गरेको छ।
ब्याज र ऋण तिर्न सक्ने कम्पनीको क्षमता भने सन्तोषजनक देखिएको छ। रिपोर्टअनुसार कम्पनीको ब्याज कभरेज रेसियो ६.९ गुणा र ऋण सेवा कभरेज रेसियो ५.८ गुणा रहेको छ, जसले कम्पनीले आफ्नो आम्दानीबाट सहजै ब्याज र किस्ता तिर्न सक्ने देखाउँछ।
कम्पनीको सञ्चालन नाफा मार्जिनमा पनि सुधार देखिएको छ। आव २०२५ मा २.९ प्रतिशत रहेको यस्तो मार्जिन चालु आवको ६ महिनामा बढेर ८.१ प्रतिशत पुगेको छ। कच्चा पदार्थको मूल्यमा आएको स्थिरता र नयाँ उत्पादनहरूको बजार प्रवेशले नाफा बढाउन सहयोग पुगेको हो। यद्यपि, ऋण लिएर गरिएको पुँजीगत खर्चका कारण कम्पनीको गियरिङ रेसियो ०.७ बाट बढेर २.९ गुणा पुगेको छ। प्रवद्र्धकहरूले थप पुँजी लगानी गर्ने योजनाले यसलाई सन्तुलनमा ल्याउने प्रतिवेदनमा उल्लेख छ।
एशियन थाई फुड्सले आफ्नो वित्तीय संरचनालाई थप सुदृढ बनाउन प्राथमिक सेयर (आईपिओ) निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। सन् १९९९ बाट निजी क्षेत्रको कम्पनीका रूपमा सञ्चालनमा आएको यो कम्पनी सन् २०२५ जुनमा सार्वजनिक कम्पनीमा रूपान्तरण भइसकेको छ।
इक्रा नेपालले कम्पनीको १ अर्ब ९८ करोड ६० लाख रुपैयाँको कर्जाका लागि रेटिङ गर्दै आईपीओ जारी गर्ने योजनालाई सकारात्मक रूपमा लिएको छ। आईपीओबाट प्राप्त हुने रकमले हालको ऋण भारलाई कम गरी वित्तीय अवस्था अझ बलियो बनाउने कम्पनीको रणनीति छ।
कम्पनीको मुख्य उत्पादन केन्द्र (प्लान्ट) सुनसरीको सोनापुरमा रहेको छ। बजार विस्तारका लागि कम्पनीले सन् २०२५ मेदेखि पश्चिम नेपालको कपिलवस्तु (तौलिहवा) मा दोस्रो उद्योग सञ्चालनमा ल्याएको छ। साथै, सन् २०२६ जनवरीदेखि सोनापुरमै जुस उत्पादनका लागि नयाँ उद्योग समेत थपिएको छ।
एशियन थाई फुड्स नेपालको इन्स्ट्यान्ट नुडल्स र स्न्याक्स बजारमा एक प्रमुख हिस्सा ओगट्ने कम्पनी हो। यसका प्रमुख उत्पादनहरूमा रमपम, प्रिती, २पीएम, र डेभिल ब्रान्डका चाउचाउ रहेका छन्। स्न्याक्सतर्फ कम्पनीले कुरमकुरा, क्रेजी, र मामा ब्रान्डहरू उत्पादन गर्दै आएको छ। कम्पनीले हालै आफ्नो व्यापार विविधीकरण गर्दै ‘गुडलाइफ’ ब्रान्डअन्तर्गत जुस र पेय पदार्थको उत्पादन समेत सुरु गरेको छ। कम्पनीको कुल आम्दानीमा चाउचाउ खण्डको हिस्सा करिब ८२ प्रतिशत रहेको छ।
नेपालका प्रतिष्ठित व्यावसायिक घरानाहरू शारडा ग्रुप र जाजु ग्रुपद्वारा प्रवद्र्धित यो कम्पनीको नेतृत्व सुधिर मित्तल र अनुभवी व्यवसायीहरूको टोलीले गरिरहेको छ। कम्पनीमा आनन्द जाजुको २५ प्रतिशत, महेश कुमार जाजुको करिब २४ प्रतिशत, श्रीनिवास शारडाको करिब ११ प्रतिशत, शिवरतन शारडाको १० प्रतिशत, राधेश्याम शारडाको १० प्रतिशत, पवन कुमार शारडाको १० प्रतिशत र अन्य ६ जना सेयरधनीको करिब ११ प्रतिशत सेयर स्वामित्व छ।