काठमाडौं। जिल्ला होटल व्यवसायी संघ काठमाडौं र फुड एण्ड ट्रेडिङ हाउस बिच होटल व्यवसायीलाई आवश्यक खाद्य तथा उपभोग्य सामग्री सहज, सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यले खाद्य सामग्री आपूर्ति सम्झौता भएको छ।
सम्झौतामा जिल्ला होटल व्यवसायी संघ काठमाडौँका तर्फबाट अध्यक्ष सुरेश बराल तथा फुड एण्ड ट्रेडिङ हाउसका तर्फबाट अजित जंग थापा, सिनियर सेल्स म्यानेजरले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार फुड एण्ड ट्रेडिङ हाउसले संघमा आबद्ध होटल व्यवसायीलाई आफ्नै मिलमा उत्पादित विभिन्न ब्राण्डका लोकल चामल तथा किचनमा आवश्यक पर्ने सम्पूर्ण गुणस्तरीय खाद्य सामग्री होटलमै सहज र सुलभ मूल्यमा उपलब्ध गर्नेछ।
त्यस्तै, सिजी ग्रुपद्वारा उत्पादित होटल व्यवसायका लागि आवश्यक अन्य सामग्रीसमेत उपलब्ध गर्नु पर्ने छ, भने आवश्यकता अनुसार दुवै पक्षको सहमतिमा उत्पादनको सूची तथा मूल्यमा थपघट वा परिमार्जन गर्न सकिने व्यवस्था पनि सम्झौतामा उल्लेख गरिएको छ।
यस सम्झौताबाट जिल्ला होटल व्यवसायी संघ काठमाडौँमा आबद्ध होटललाई आवश्यक सामग्री खरिद–बिक्रीमा समन्वय र सहजीकरण हुने अपेक्षा गरिएको छ। साथै, गुणस्तरीय सामग्री सहज रूपमा उपलब्ध गराई आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष बरालले बताए।
सम्झौताअनुसार आपूर्तिकर्ताले आवश्यक सामग्री समयमै उपलब्ध गराउनुका साथै गुणस्तर, अर्ग्यानिक र शुद्धतामा शतप्रतिशत प्रतिबद्धता जनाउनुका साथै, आगामी दिनमा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरूमा समेत सहकार्य गर्दै अगाडि बढ्ने सहमति भएको जनाइएको छ।
अध्यक्ष बरालले यस सम्झौताले होटल व्यवसायीलाई आवश्यक वस्तु एक द्वार प्रणालीमार्फत सहज मूल्यमा र गुणस्तरीय रूपमा उपलब्ध हुने विश्वास व्यक्त गर्दै होटल व्यवसायीले शुद्ध र भरपर्दो सामग्री पाउने सुनिश्चितताका लागि सम्झौता गरिएको उनले बताए।