काठमाडौं। नेपालमा चिनियाँ विद्युतीय सवारी साधनको बिक्री वितरण सुरु गरेको हाइली एड्भान्स्ड मोटर्सले चालु आर्थिक वर्ष २०८२/८३ (सन् २०२६) को ८ महिनामा १४१ युनिट सवारी साधन बिक्री गर्न गरेको छ। नेपालमा विद्युतीय सवारी साधनको व्यावसायिक क्षेत्रमा नयाँ खेलाडीका रूपमा भित्रिएको हाइली एड्भान्स्ड मोटर्सले छोटो समयमै आफ्नो व्यापारमा आक्रामक फड्को मारेको हो।
सन् २०२५ फेब्रुअरी (२०८१ फागुन) बाट मात्रै व्यावसायिक सञ्चालन सुरु गरेको यो कम्पनीले सञ्चालनको केही महिनामै सवारी साधन बिक्रीमा उल्लेखनीय सफलता हासिल गरेको इक्रा नेपालको रिपोर्टमा उल्लेख छ। रिपोर्टअनुसार कम्पनीले गत आर्थिक वर्ष २०२५ को अन्तिम ५ महिनामा ९० युनिट गाडी बिक्री गरेको थियो। यसरी हेर्दा कम्पनीले व्यावसायिक सञ्चालन सुरु गरेको करिब १३ महिनामै कुल २३१ युनिट भन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ।
हाइली एड्भान्स्ड मोटर्सले विशेषगरी विद्युतीय व्यावसायिक सवारी साधनमा जोड दिएको छ। कम्पनी नेपालका लागि चिनियाँ ब्रान्डहरू कावेई र नाभेकोका चार पाङ्ग्रे विद्युतीय व्यावसायिक सवारी साधनको विशेष आधिकारिक बिक्रेता हो। यसका साथै कम्पनीले क्यूजे ब्रान्डका दुई पाङ्ग्रे विद्युतीय सवारी साधनको पनि बिक्री वितरण गरिरहेको छ।
कम्पनीले काठमाडौंमा आफ्नै शोरुम र वर्कसप सञ्चालन गर्नुका साथै देशभर १० वटा डिलर सञ्जालमार्फत आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ। सरकारले सन् २०३० सम्ममा ६० प्रतिशत व्यावसायिक सवारी साधन विद्युतीय बनाउने लक्ष्य राखेकाले कावेई र नाभेको जस्ता ब्रान्डको माग बजारमा बढ्दो क्रममा रहेको रिपोर्टमा उल्लेख छ। रिपोर्टअनुसार कम्पनीले सन् २०२५ को पहिलो ५ महिनाको सञ्चालन अवधिमा ३५ करोड ३० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो। कम्पनीको सञ्चालन नाफा मार्जिन ८.६ प्रतिशत रहेको छ।
कम्पनीले आफ्नो व्यवसाय विस्तार र सवारी साधन आयातका लागि गरेको रेटिङमा इक्राले १ अर्ब २१ करोड रुपैयाँ बराबरको अल्पकालीन ऋण सीमा कायम गरेको छ। इक्राले यो ऋणका लागि ‘ए फोर’ रेटिङ प्रदान गरेको छ। ऋणको भार ठूलो देखिए पनि कम्पनीको ऋण तिर्ने क्षमता हालसम्म सन्तोषजनक देखिएको छ।
आव २०२५ को प्रतिवेदनअनुसार कम्पनीको ब्याज कभरेज रेसियो २.३ गुणा र ऋण सेवा कभरेज रेसियो २.० गुणा रहेको छ। यसको अर्थ कम्पनीले आफ्नो सञ्चालन नाफाबाट बैंकको ब्याज र किस्ता सहजै तिर्न सक्ने अवस्था छ। तर, बजारमा ब्याजदर बढ्दा र कार्यशील पुँजीको दबाब हुँदा यसमा असर पर्न सक्ने जोखिम पनि रिपोर्टमा औंल्याइएको छ।
यद्दपि, कम्पनीको कार्यशील पुँजीको ४५ प्रतिशत जति उच्च छ। गाडी उत्पादकबाट उधारो सुविधा नपाइने तर बजारमा गाडी बिक्री गर्दा पैसा उठ्न समय लाग्ने हुँदा कम्पनीमा सधैँ नगदको चाप रहने देखिन्छ। नेपालमा हाल बीवाईडी, टाटा जस्ता स्थापित ब्रान्ड र अन्य धेरै नयाँ इभी ब्रान्डहरू भित्रिरहेकाले बजारमा कडा प्रतिस्पर्धा छ। यसले कम्पनीको नाफा र मूल्य निर्धारणमा असर पार्न सक्ने रिपोर्टमा उल्लेख छ।
कम्पनीको नेतृत्व स्वास्थ्य क्षेत्रका सफल व्यवसायी तथा हस्पिटल फर एड्भान्स्ड मेडिसिन एन्ड सर्जरीका अध्यक्ष रामशरण भण्डारीले गरिरहेका छन्। कम्पनीमा भण्डारीको ६० प्रतिशत सेयर हिस्सा छ भने बाँकी सेयर अन्य अनुभवी व्यावसायिक साझेदारहरूको रहेको छ। प्रवद्र्धकहरूको विविध क्षेत्रको अनुभव र व्यक्तिगत जमानीले कम्पनीलाई बैंकबाट ऋण लिन र व्यवसाय विस्तार गर्न सहज बनाएको रिपोर्टमा उल्लेख छ।