काठमाडौं। नेपालका लागि टोयोटा गाडीको आधिकारिक डिलर इस्ट लिंक अटोमोबाइल्सले चालु आर्थिक वर्षको पहिलो ६ महिनामै करिब ढेड अर्ब व्यापार गरेको छ। इक्रा नेपालको पछिल्लो प्रतिवेदनअनुसार कम्पनीले चालु आव २०२६ को पहिलो ६ महिनामा १ अर्ब ४५ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो।
यो व्यापार अघिल्लो आर्थिक वर्ष २०२५ को ८ महिनाको कुल व्यापार (१ अर्ब ३८ करोड १० लाख) भन्दा पनि बढी हो। यस आधारमा कम्पनीको व्यापारिक वृद्धिदर निकै उच्च देखिएको छ। कम्पनीले सन् २०२४ जुलाई (२०८१ साउन) देखि युनाइटेड ट्रेडर्स सिन्डिकेट अन्तर्गत टोयोटाको क्षेत्रीय डिलरका रूपमा काम सुरु गरेको हो।
कम्पनीको नेतृत्व अनुभवी व्यवसायी राजेन्द्र विक्रम पौडेलले गरिरहेका छन्। उनी सन् २००७ देखि नै टोयोटाको व्यवसायसँग आबद्ध छन्। कम्पनीको व्यापार मुख्यतया टोयोटाका महँगा र प्रिमियम गाडीहरूमा केन्द्रित रहेको छ। प्रतिवेदनअनुसार कम्पनीको कुल आम्दानीमा टोयोटा प्राडोको मात्रै ७० प्रतिशत र हिलक्सको १० प्रतिशत हिस्सा रहेको छ। कम्पनीले हाल काठमाडौंको उत्तरढोकामा आफ्नै शोरुममार्फत व्यापार गरिरहेको छ।
टोयोटाका अन्य प्रतिस्पर्धी ब्रान्डहरूले विद्युतीय सवारी साधनमा आक्रामक बजार विस्तार गरिरहेको भए पनि इस्ट लिंकले इन्धनबाट चल्ने प्रिमियम एसयूभी र पिकअप सेगमेन्टमा आफ्नो वर्चस्व कायम राखेको छ। टोयोटाको समग्र बिक्री परिमाणमा यो कम्पनी नेपालकै सबैभन्दा ठूलो योगदानकर्ताको रूपमा स्थापित भएको छ।
व्यापार विस्तार र गाडी आयातका लागि आवश्यक कार्यशील पुँजी व्यवस्थापन गर्न कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ बराबरको अल्पकालीन ऋण सीमा कायम गरेको छ। इक्रा नेपालले यस ऋणका लागि ‘ए फोर प्लस’ रेटिङ प्रदान गरेको छ। कम्पनीसँग हाल बैंकबाट चलाउन पाउने ऋणको सीमामध्ये करिब १६ करोड ८० लाख रुपैयाँ अझै बाँकी रहेको छ, जसले कम्पनीलाई वित्तीय लचकता प्रदान गरेको छ।
कम्पनीले मुख्यतया गाडी आयात गर्दा चाहिने प्रतितपत्र र स्टक व्यवस्थापनका लागि यो ऋण परिचालन गरेको हो। कम्पनीको ऋण तिर्ने क्षमता निकै मजबुत देखिएको छ। प्रतिवेदनअनुसार कम्पनीको ब्याज कभरेज रेसियो १०.३ गुणा र ऋण सेवा कभरेज रेसियो ७.८ गुणा रहेको छ। यसले कम्पनीले आफ्नो नाफाबाट बैंकको ब्याज र किस्ता अत्यन्त सहज रूपमा तिर्न सक्ने देखाउँछ।
कम्पनीको सञ्चालन नाफा मार्जिन भने ३.१ प्रतिशतमा खुम्चिएको छ। अटोमोबाइल डिलरसिप व्यवसायमा नाफाको मार्जिन कम हुने र टोयोटाका केही कम नाफा हुने मोडेलहरूको बिक्री बढेकाले मार्जिनमा केही गिरावट आएको हो। कम्पनीको पुँजी संरचनातर्फ हेर्दा कुल बाह्य दायित्व र खुद सम्पत्तिको अनुपात ३.२ गुणा रहेको छ।
यो अनुपातले कम्पनीको पुँजीको तुलनामा ऋण र अन्य दायित्वको मात्रा मध्यम रहेको देखाउँछ। यस्तै, कम्पनीको कार्यशील पुँजीको तीव्रता ८ प्रतिशत मात्रै छ, जसको अर्थ कम्पनीले आफ्नो व्यापार सञ्चालन गर्न थोरै मात्र नगद फ्रिज गराएर पनि राम्रो कारोबार गर्न सकेको छ। सामान छिटो बिक्री हुने र ग्राहकबाट अग्रिम भुक्तानी पाउने गरेकाले कम्पनीलाई नगद प्रवाहमा सहजता मिलेको हो।
यद्यपि, कम्पनीका सामु केही गम्भीर चुनौतीहरू पनि रहेका छन्। नेपालमा हाल ग्राहकहरूको रोजाइ तीव्र रूपमा विद्युतीय सवारी साधन तर्फ मोडिएको छ, जहाँ टोयोटाको उपस्थिति हालसम्म न्यून छ। सरकारले पनि इभीमा कर सहुलियत दिएकाले इन्धन गाडीको बजार खुम्चिने जोखिम छ।
साथै, टोयोटाका महँगा गाडीहरूमा मात्र व्यापार केन्द्रित हुनु र फोर्ड, निसान, जिप जस्ता स्थापित ब्रान्डसँगको तीव्र प्रतिस्पर्धाले आगामी दिनमा नाफामा दबाब पर्न सक्ने इक्राले औंल्याएको छ। अनुभवी व्यवसायी राजेन्द्र विक्रम पौडेलको एकल स्वामित्वमा रहेको यो कम्पनीले टोयोटाको ब्रान्ड भ्यालु र आफ्नो लामो अनुभवका आधारमा यी चुनौतीहरूलाई चिर्दै व्यापारलाई निरन्तरता दिने लक्ष्य लिएको छ।