काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद सुनिल शर्माको नेतृत्वमा रहेको ‘काठमाडौं मेडिकल कलेज’ (केएमसी)ले वित्तीय साखमा सुधार गर्दै आफ्नो साख बढाएको छ। रेटिङ एजेन्सी इक्रा नेपालले केएमसीलाई ‘गैरसहयोगी’ (इस्युआर नट कोअप्रटिङ) श्रेणीबाट हटाउँदै यसको झण्डै तीन अर्ब रुपैयाँ बराबरको ऋणको क्रेडिट रेटिङमा स्तरोन्नति (अपग्रेड) गरेको हो।
यसअघि आवश्यक वित्तीय सूचना र विवरण उपलब्ध नगराउँदा केएमसीको साखमा प्रश्न उठ्दै एजेन्सीले यसलाई ‘इस्युआर नट कोअप्रटिङ’को सूचीमा राखेको थियो। तर, पछिल्लो समय पारदर्शिता कायम गर्दै व्यावसायिक छलाङ मारेपछि इक्रा नेपालले यसको साख बढेको पुष्टी गरेको हो।
बिरामीको चाप र आम्दानीमा भएको तीव्र वृद्धि, एमबिबिएस सिट विस्तार र ऋण कभरेज सूचकमा आएको सुधारका कारण केएमसीको रेटिङ अपग्रेड गरिएको हो। साथै, आवश्यक सूचना उपलब्ध गराई पारदर्शिता कायम गरेपछि कम्पनी ‘गैरसहयोगी’ श्रेणीबाट समेत हटेको छ।
इक्रा नेपालका अनुसार केएमसीले बैंकहरूबाट उपयोग गरिरहेको कुल २ अर्ब ८२ करोड १७ लाख रुपैयाँ बराबरको ऋणको रेटिङ अपग्रेड भएको छ। कम्पनीको २ अर्ब १२ करोड ११ लाख रुपैयाँ बराबरको दीर्घकालीन ऋणको रेटिङलाई ‘एलबीबी माइनस’ बाट बढाएर ‘एलबीबी प्लस’ कायम गरिएको छ।
यसैगरी, ७० करोड ५ लाख रुपैयाँको अल्पकालीन ऋणको रेटिङ पनि ‘एफोर’ बाट सुधार भएर ‘एफोर प्लस’ पुगेको छ। साख मूल्यांकनमा भएको यो वृद्धिले शर्माको यो व्यावसायिक प्रतिष्ठालाई बैंकिङ क्षेत्रमा थप बलियो बनाएको छ।
सन् २००९ मा स्थापना भएको केएमसीमा सन् २०२० सेप्टेम्बरमा सुनिल शर्माको नेतृत्वमा रहेको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल (विराटनगर) को समूहले ४४ प्रतिशत हिस्सा खरिद गर्दै व्यवस्थापन सम्हालेको थियो। तत्कालीन समयमा करिब ६४ करोड ५० लाख रुपैयाँमा सो सेयर खरिद गरेर शर्माले केएमसीमा प्रवेश पाएका थिए।
शर्माले व्यवस्थापन सम्हालेपछि केएमसीले आम्दानी र बिरामीको चापमा उल्लेख्य प्रगति गरेको इक्राको रिपोर्टले देखाएको छ। सन् २०२५ को मध्य जुलाईसम्मको दुई वर्षमा केएमसीको एकीकृत आम्दानीमा तीव्र वृद्धि भएको छ। आर्थिक वर्ष २०२३÷२४ मा २५ प्रतिशत र २०२४÷२५ मा ३३ प्रतिशतले आम्दानी बढेको छ। अस्पतालको पूर्वाधार सुधार र बिरामीको विश्वास बढेका कारण प्रतिबिरामी औसत आम्दानीमा पनि वृद्धि भएको छ।
कम्पनीको यो व्यावसायिक सुधारमा यसका सहायक कम्पनीहरूको पनि ठूलो योगदान छ।
मेडिकल शिक्षातर्फ पनि केएमसीको प्रदर्शन सबल देखिएको छ। एमबिबिएसलगायतका मुख्य कोर्षहरूमा विद्यार्थीको आकर्षण पूर्ण रहेको छ। यसै शैक्षिक सत्रदेखि एमबिबिएसको सिट संख्या १०० बाट बढाएर १३० पु¥याइएको छ। जसले आगामी दिनमा आम्दानी अझ बढाउने प्रक्षेपण गरिएको छ।
कम्पनीको यो व्यावसायिक सुधारमा यसका सहायक कम्पनीहरूको पनि ठूलो योगदान छ। केएमसीले एडभान्स्ड इमेजिङ डाइग्नोस्टिक सेन्टर, केएमसी फार्मेसी र काष्ठमण्डप डाइग्नोस्टिक एण्ड मेडिकल सर्भिसमार्फत सेवा विस्तार गरेको छ। काष्ठमण्डप डाइग्नोस्टिक सन् २०२१ पछि यो समूहमा आबद्ध भएको हो।
त्यसयता कम्पनीले क्रमिक रुपमा व्यापारसमेत बढाउँदै लगेको रिपोर्टमा उल्लेख छ। सन् २०२२ मा १ र्अ २८ करोड रुपैयाँ बराबरको व्यापार गरेको केएमसीले सन् २०२३ मा १ अर्ब ४० करोड, सन् २०२४ मा १ अर्ब ८५ करोड र सन् २०२५ मा २ अर्ब ४७ करोड रुपैयाँ बढीको व्यापार गरेको छ।
रिपोर्टअनुसार, केएमसीको सञ्चालन मुनाफा सन् २०२५ मा करिब २९ प्रतिशत रहेको छ। ऋण र नेटवर्थको अनुपात सन् २०२३ मा ३.३ गुणा रहेकोमा हाल घटेर २.८ गुणामा झरेको छ। यसले कम्पनीको वित्तीय भार कम हुँदै गएको र आन्तरिक रुपमा मुनाफा बढ्दै गएको संकेत गर्छ।
यद्यपि, काठमाडौंका अन्य निजी र सरकारी अस्पतालसँगको प्रतिस्पर्धा, मेडिकल शिक्षाको नियामक अन्यौल र सरकारी स्वास्थ्य बिमाको शोधभर्ना पाउन लाग्ने ढिलाइ भने शर्माको यो मेडिकल कलेजका लागि अझै पनि केही चुनौतीपूर्ण पक्षहरू हुन्। तर, गैर–सहयोगीको श्रेणीबाट बाहिरिएर रेटिङ अपग्रेड हुनुलाई बैंकिङ र कर्पोरेट क्षेत्रले केएमसीको ठूलो सफलताका रुपमा लिएको छ।