काठमाडौं। चालू आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा नेपालमा विद्युतीय सवारीसाधन (ईभी) आयात घट्दा पेट्रोल–डिजेल गाडीको आयात भने उल्लेख्य रूपमा बढेको छ।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि चैतसम्म ईभी आयात ९.९७ प्रतिशतले घटेको छ भने पेट्रोल गाडी आयात ५०.९९ प्रतिशतले वृद्धि भएको हो।
चालू आर्थिक वर्षको पहिलो ९ महिने अवधिमा कुल ११ हजार ३१३ युनिट कार, जीप र भ्यान आयात भएका छन्, जसमा विद्युतीय र पेट्रोल दुवै सवारी समावेश छन्। आयत भएका मध्ये ४ हजार १४० युनिट पेट्रोल कार आयात भएका छन् भने ७ हजार १७३ युनिटमा ईभी गाडी आयात भएको भन्सार विभागले जनाएको छ।
गत वर्ष ९ महिने अवधिमा २ हजार ७४२ युनिट पेट्रोल÷डिजेल गाडी आयात भएको थियो। भने यस वर्ष ४ हजार १४० युनिट आयात भएको छ। डिजेल÷पेट्रोलमा यस वर्ष आयात भएका गाडी गत वर्षको तुलनामा ५१ प्रतिशतले बढी हो।
पेट्रोल कार आयातमा हुन्डाईको वर्चस्व कायम रहेको छ। कुल आयातित पेट्रोल गाडीमध्ये १ हजार ८३७ युनिट अनएसेम्बल रहेका छन्। नेपालमा चारपांग्रे सवारी एसेम्बल गर्ने कम्पनीमध्ये हाल हुन्डाई मात्र सक्रिय भएकाले ती सवारी उसकै रहेको अनुमान गरिएको छ। हुन्डाईले नेपालमै क्रेटा र भेन्यू मोडल एसेम्बल गर्दै आएको छ।
गत वर्षको तुलनामा ईभी आयातमा भने गिरावट आएको छ। गत आर्थिक वर्षको ९ महिनाको अवधिमा ७ हजार ९६७ युनिट ईभी आयात भएकोमा चालू वर्ष यो संख्या घटेर ७ हजार १७३ युनिटमा सीमित भएको छ।
चालू आवमा कुल १६ अर्ब ६६ करोड रुपैयाँ बराबरका ईभी भित्रिएका छन्, जसबाट सरकारले १० अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।