काठमाडौं। मुगुको मुगुम कार्माङ गाउँपालिकाको छायाँनाथमा जेठ ३ गते छानाथ ट्रेल अल्ट्रा रेस २०२६ हुने भएको छ। एड्भेन्चर स्पोद्सं (साहसिक खेलकुद)मार्फत पर्यटकीय सम्भावनालाई मूर्त रुप दिन मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना र अल नेपाल स्पोद्स फाउन्डेसनको सहकार्यमा आगामी ३ गते 'छायाँनाथ अल्ट्रा रेस' आयोजना हुने भएको हो।
नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार पत्रकार सम्मलेन गर्दै गाउँपालिकाले रारा, छायाँनाथ धामसहित मुगुका पर्यटकीय क्षेत्रको समग्र पर्यटन विकास, पूर्वाधार विस्तार र स्थानीय समुदायको आर्थिक सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्यले अल्ट्रा रेस आयोजना गरिएको जानकारी गराएको छ।
गाउँपालिकाका प्रतिनिधिहरूले रारा र छायाँनाथ धाम आसपासका क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको आकर्षक गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यसहित रणनीतिक कार्यक्रम ल्याइएको जानकारी दिएका छन्। पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिका अध्यक्ष छिरिङ क्याप्रे लामाले पर्यटनलाई स्थानीय आर्थिक विकासको मुख्य आधारका रूपमा अघि बढाइने बताए।
यो रेस समुद्री सतहबाट २५५० मिटरबाट सुरु भई छायाँनाथ ४८२० मीको अल्टिच्युडसम्म करिब ३० किलोमिटरको रेस हुनेछ। यस प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले अनलाइनमार्फत् आवेदन दिन सक्ने छन्। नेपाल एड्भेन्चर रनिङ महासंघको प्राविधिक सहयोग रहने यस प्रतियोगितामा मुगु जिल्लाका स्थानीय बासिन्दाहरूका लागि छुट्टै विधा र सबैको सहभागितालाई प्रोत्साहन गर्न ५ किलोमिटरको 'फन रन'को समेत व्यवस्था गरिएको छ।
प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिनेछ। ३० किलोमिटरको मुख्य विधा (महिला तथा पुरुष)तर्फ प्रथम हुनेलाई दुई लाख रुपैयाँ, दोस्रोलाई एक लाख ५० हजार, तेस्रोलाई एक लाख, चौथोलाई ७५ हजार र पाँचौँलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने छ। त्यसैगरी, स्थानीयतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ।
पत्रकार सम्मेलनका क्रममा नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले मुगुम कार्मारोडलाई साहसिक खेल पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने यस अभियानले पर्यटन प्रवर्द्धनका साथै स्थानीय अर्थतन्त्रमा पनि योगदान पुग्ने बताएका छन्।
उनले उच्च अल्टिच्युडमा हुने यस उच्च साहसिक खेल गतिविधिले अन्तर्राष्ट्रिय रुपमा पनि छायाँनाथ धामसहित समग्र कर्णालीको पर्यटकीय गन्तव्य प्रवर्द्धान हुने जानकारी गराए। उनले भने, 'यो निकै चुनौतीपूर्ण खेल गतिविधि भएकोले सावधानी अपनाउँदै सम्पूर्ण सरोकारवाला निकाय गम्भीर भएर सहयोग गर्नुपर्ने देखिन्छ।'