काठमाडौं। मुलुकको हवाई क्षेत्रको नियामकिय निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को नेतृत्वविहीन भएको करिब ५ महिना भयो। तत्कालिन महानिर्देशक(डिजि) प्रदिप अधिकारीलाई भ्रष्टचारको मुद्धामा मसिर १७ गते पक्राउ परेपछि १९ गतेदेखि प्राधिकरण निमित्त महानिर्देशकको भरमा सञ्चालनमा रहदै आएको छ।
तत्कालिन महानिर्देशक अधिकारीको पदावदी माघ १७ गतेसम्म रहेकोले तत्कालै नयाँ नियुक्ती गर्न नमिलेपछि तत्कालका लागि संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश ढंगोललाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको थियो।
तर, उनले आफ्नो कार्यव्यस्तताको कारण पूर्ण रुपमा प्राधिकरणको जिम्मेवारी सम्हाल्न नसक्ने जानकारी गराएपछि तत्कालिन पर्यटन मन्त्री अनिलकुमार सिन्हाले मन्त्रीस्तरीय निर्णय गर्दै पुस ४ गते प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णलाई निमित्त महानिर्देशकको रुपमा नियुक्त गरेका थिए।
तत्कालिन महानिर्देशक अधिकारीको पदावदी नसकिएको कारणले कर्णलाई निमित्त महानिर्देशक बनाएका पर्यटन मन्त्री सिन्हाले बीचमा उनलाई पूर्ण महानिर्देशक बनाउने तयारी गरेपनि निर्वाचन आचारसंहिताको कारण उनको चाहना पुरा हुन सकेन।
निर्वाचन आयोगसँग सहमती लिएर महानिर्देशक नियुक्ती गर्ने प्रयास गरेपनि तत्कालीन अवस्थाको सरकारको मूख्य जिम्मेवारी निर्वाचन गराउनु मात्र भएको र पछि मुद्धामामिला हुने त्रासको बीचमा आयोगले मन्त्रालयलाई स्वीकृत नदिएपछि पर्यटनमन्त्री सिन्हा पछि हटेका थिए।
किन भैरहेको छ ढिलाई?
नियामकिय निकायको प्रमुख ५ महिनादेखि खाली भएपनि हालसम्म सरकारले प्रमुख नियुक्तीका लागि कुनै प्रक्रिया अगाडी बढाएको छैन। यता धितोपत्र बोर्डको अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बैशाख ४ गते राजीनामा दिएसँगै सरकारले अध्यक्ष छनौटका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकरण भट्टको संयोजकत्वमा समिति गठन गरिसकेको छ। तर, उस्तै प्रकृतीको नियामकिय निकायको अध्यक्ष नियुक्तीमा भएको ढिलाई प्रति प्रश्न उठ्न थालेको छ।
मन्त्रालय स्राेतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले सार्वजनिक निकायको प्रमुख नियुक्तीमा आफ्नो भन्दा राम्रो मान्छे छनौट गर्नुपर्ने र त्यसका लागि आन्तरिक रुपमा कार्यविधिनै बनाउनुपर्ने अडानको कारणले ढिलाई भैरहेको हो। ‘सकेसम्म कुनैपनि दाग नलागेको व्यक्तिलाई प्रमुख नियुक्ती गर्ने चाहना प्रधानमन्त्रीको रहेकोले त्यस खालको व्यक्तिको खोजीमा लाग्दा केहि ढिलाई भएको हो,’ पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘अव प्रक्रिया अगाडी बढ्छ।’
महानिर्देशक खोज्न सूचना जारी गर्ने तयारी
पर्यटनमन्त्री खडकराज पौडेल (गणेश) को पर्यटन मन्त्रालयका मातहतका निकायको नियुक्ती खुल्लाबाट गर्ने प्रतिबद्धता अनुसार महानिर्देशक नियुक्तीका लागि सार्वजनिक आब्हानको तयारी थालेको सूचना अधिकारी गोकर्ण उपाध्यायले जानकारी दिए। सोमबार भित्रमा सूचना जारी गरी महानिर्देशक छनौटको प्रक्रिया अगाडी बढाउने उनले बताए। प्राधिकरणको ऐन अनुसार महानिर्देशक नियुक्तीका लागि प्राधिकरणको कर्मचारी वा सरकारी कर्मचारी भन्ने उल्लेख भएकोले त्यसैलाई टेकेर पर्यटन मन्त्री पौडेलले प्रतिस्पर्धा गर्न लागेका हुन्।
योसँगै प्राधिकरणको महानिर्देशकका लागि पर्यटन मन्त्रालयका कर्मचारीहरुले पनि प्रतिस्पर्धा गर्न सक्ने भएका छन्। यस अघिपनि प्राधिकरणको महानिर्देशक नियुक्तीको बेला पर्यटन मन्त्रालयका सहसचिवहरुले पनि चाहना राख्ने गरेका थिए। तर, तत्कालिन पर्यटन मन्त्रीहरुले प्राधिकरणकै ११ र १२ तहका कर्मचारीहरुबाट महानिर्देशक छनौट गर्ने गरेका थिए।
बोर्ड बैंठकनै अनियन्त्रीत, बजेट लेखनको छैन तयारी
प्राधिकरणमा पूर्ण महानिर्देशक नहुँदा वार्षिक उत्सवको निर्णय गर्न बसेको सञ्चालक समितिको बैंठक बाहेक अन्य बैंठकहरु बस्न सकेको छैन। बोर्डमा पर्यटन मन्त्री अध्यक्ष र महानिर्देशक सदस्य सचिव रहने गरिएको छ। यस्तै पूर्ण महानिर्देशक नहुँदा चैतदेखिनै थाल्नुपर्ने बजेट लेखनको प्रक्रियादेखि कर्मचारी सरुवा बढुवाको निर्णयमा समेत प्रभावित भैरहेको छ।
अर्कोतर्फ निमित्त मात्र हुँदा आफ्नो निर्णय पछि के हुने भन्ने निश्चित नभएको र कार्यान्वयन तहमा बलियो हुन्छ वा हुँदैन भन्ने त्रासले पनि कतिपय निर्णयहरु गर्न हिचकिचाइहेका छन्। योसँगै अन्तराष्ट्रिय रुपमा हुने विभिन्न गोष्टि र सेमिनारमा पूर्ण र निमित्तलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमै फरक पर्ने गरेको प्राधिकरणका एक पूर्व महानिर्देशकको भनाई छ। यस्तै निमित्तको भरमा प्राधिकरण सञ्चालन हुँदा आर्थिक सम्बन्धीका निर्णय समेत हुन नसक्दा समस्या पर्न थालेको बताइन्छ।