काठमाडौं। नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासंघबीच हस्तकला प्रवर्द्धन, महिला उद्यमशीलता सशक्तीकरण तथा सांस्कृतिक सम्पदा संरक्षणका लागि सहकार्य गर्ने उद्देश्यले समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरिएको छ।
सम्झौतामा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ र महासंघका अध्यक्ष रविन्द्र शाक्यले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार दुवै संस्थाले नेपाली कला, संस्कृति, हस्तकला तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र अन्तर्राष्ट्रियकरणमा संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
विशेष गरी महिला उद्यमीलाई सशक्त बनाउने, उनीहरूका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने र नयाँ पुस्ताका हस्तकलाकर्मीलाई दक्ष बनाउने कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।
दुवै पक्षबीच प्रदर्शनी, व्यापार मेला, बी-टु-बी कार्यक्रम, सांस्कृतिक आदानप्रदान तथा तालिममार्फत बजार विस्तार गर्ने सहमति भएको छ। साथै उच्चस्तरीय प्रदर्शनी, प्रवर्द्धन परियोजना र तालिमसम्बन्धी सूचनाहरू आदानप्रदान गर्दै सहकार्यलाई थप प्रभावकारी बनाइने छ।
सम्झौतामा दीर्घकालीन साझेदारी विकास गर्दै नेपाल तथा विदेशमा नियमित प्रदर्शनी र रोड-शो आयोजना गरी प्रत्यक्ष बजार पहुँच विस्तार गर्ने लक्ष्य पनि राखिएको छ। परम्परागत नेपाली उत्पादनको दिगो विकासका लागि तालिम, कार्यशाला तथा शैक्षिक आदानप्रदान कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
सम्झौता कार्यान्वयनका क्रममा उत्पन्न हुने विवादहरू आपसी सहमतिबाट समाधान गरिने तथा उल्लेख नभएका विषयहरू पनि आपसी समझदारीका आधारमा थप गर्दै जाने व्यवस्था गरिएको छ।
यस अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल हस्तकलाको क्षेत्रमा विश्वमै अग्रपंक्तिमा रहेको उल्लेख गर्दै नेपालको हस्तकला व्यवसाय व्यापारसंगै सिर्जनात्मक शिल्प तथा कला कौशलतासँग पनि जोडिएको बताए।
त्यसैगरी नेपाल महिला चेम्बरकी अध्यक्ष श्रेष्ठले यो सहकार्यले नेपाली हस्तकला क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न तथा महिला उद्यमीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको बताइन्।
त्यस्तै, हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले नेपाल महिला चेम्बरसँगको सम्झौताले हस्तकला उद्योगको प्रबद्र्धन र महिला उद्यमशिलता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।